प्रधानमन्त्री ओली डिसेसिभबाट डिफेन्सिभ अवस्थामा, अर्थमन्त्री नदोहाेरिने सम्भावना, अबको गभर्नर को ?

  २०७६ फागुन ४ गते १७:३५     विकासन्युज

काठमाडौं । डा. युवराज खतिवडालाई राष्ट्रपतिले पुनः राष्ट्रियसभा सांसदमा मनोनित गरिनन् भने उनको अर्थमन्त्री पद पनि जानेछ । राष्ट्रियसभामा रिक्त अन्य सांसद पदमा निर्वाचन भइसकेपछि राष्ट्रपतिले नियुक्त गर्ने एक पद भने बाँकी नै छ ।

डा. खतिवडा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सांसदमा मनोनित भएका थिए । उनको राष्ट्रियसभा सदस्य पद २० फागुनमा सकिदैछ । सरकारको आम्दानी र खर्चको हिसाव राख्ने तथा सरकारलाई आवश्यक पर्ने आर्थिक स्रोत जुटाउने अर्थमन्त्रालयको नेतृत्वका बारेमा अहिले अन्योल छ ।

अर्थमन्त्रालय मात्रै होइन, सरकारको आर्थिक सल्लाहकार नेपाल राष्ट्र बैंकको नेतृत्व पनि खाली हुँदैछ । गभर्नर डा. चिरन्जीबी नेपालको कार्यकाल ५ चैतमा सकिदैछ । त्यसपछि नेपाल राष्ट्र बैंकमा पनि नयाँ गभर्नर आउनु पर्छ ।

अबको १६ दिनपछि अर्थमन्त्रालयमा अर्काे नेतृत्व आउने सम्भावना पनि छ । र, अर्थमन्त्री डा. खतिवडाको राष्ट्रियसभा सदस्य पद थप नभए अर्थमन्त्रालय खाली भएको अर्काे १६ दिनपछि अर्काे महत्वपूर्ण निकाय नेपाल राष्ट्र बैंक पनि नेतृत्वविहिन हुनेछ ।

यही परिवेशमा अहिले प्रश्न उठिरहेको छ – अर्थमन्त्रालय र राष्ट्र बैंकको अबको नेतृत्व कसले सम्हाल्छ ?

सबैभन्दा पहिला अर्थमन्त्रालयको अबको नेतृत्वका बारेमा चर्चा गरौं ।

डा. खतिवडालाई पुनः राष्ट्रियसभा सदस्य बनाउँदा उनी नै अर्थमन्त्रीमा कायम रहनेछन् । अर्थमन्त्रीमा निरन्तरता दिने अवस्था आएन भने डा. खतिवडालाई फेरि सांसद बनाइने छैन ।

डा. खतिवडाको सांसद पद गयो भने पनि अर्थमन्त्री नियुक्त गर्न खासै समस्या हुने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि सांसदलाई अर्थमन्त्रीमा नियुक्त गर्न संबैधानिक र कानुनी हिसावले कुनै अप्ठेरो छैन ।

प्रधानमन्त्री ओली अहिले पार्टीमा रक्षात्मक अवस्थामा छन् । पार्टी सचिवालयमा उनी आफ्नो निर्णय गराउन सक्ने अवस्थामा छैनन् । प्रधानमन्त्री ओलीको विशेष पहलमा मन्त्री र पछि राष्ट्रियसभा सांसद बन्ने मौका पाएका डा. खतिवडालाई पुनः सांसद बनाउन सकिने विश्वास प्रधानमन्त्री ओलीसँग नै छैन ।

डा. खतिवडाको क्रियाकलापलाई लिएर पार्टीभित्रै उनको व्यापक आलोचना हुने गरेको छ । त्यसैकारण उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन प्रधानमन्त्री ओलीलाई समस्या भएको हो । पार्टीमा आफू रक्षात्मक अवस्थामा रहेकोले प्रधानमन्त्री ओली डा. खतिवडालाई राष्ट्रियसभा सदस्यमा पुनः सहजै सिफारिस गर्ने मुडमा छैनन् । आफूले गरेको सिफारिस अनुसार डा. खतिवडालाई सांसद बनाउन नसकिएला कि भन्ने दुविधा प्रधानमन्त्रीमा छ ।

पार्टीमा निर्णायक (डिसेसिभ) रहेका बेला प्रधानमन्त्री ओलीले डा. खतिवडालाई मन्त्री र सांसद बनाएका थिए । अहिले प्रधानमन्त्री ओली नै रक्षात्मक (डिफेन्सिभ) अवस्थामा रहेकोले डा. खतिवडाको मन्त्री र सांसद पद धरापमा छ ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली आफूले चाहेको व्यक्तिलाई सांसद बनाउन सकिन्छ भन्नेमा दुविधामा रहेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहेको व्यक्तिलाई तत्काल सांसद नबनाउने मुडमा रहेकोले राष्ट्रियसभा ससदस्य मनोनितमा ढिलाई भएको नेकपा स्रोत बताउँछ ।

‘आफूले चाहेको व्यक्तिलाई सांसद बनाउन सकिन्छ भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्थ्यो भने राष्ट्रियसभा सदस्य मनोनित गरिसक्नुहुन्थ्यो, अर्का अध्यक्ष प्रचण्डले सिफारिस गरेको व्यक्तिलाई सांसद बनाउन तयार हुनुहुन्थ्यो भने पनि राष्ट्रियसभाले पूर्णता पाउँथ्यो, आफूले चाहेको व्यक्तिलाई सांसद बनाउन नसकिने र प्रचण्डले चाहेको गरेको व्यक्तिलाई सिफारिस पनि नगर्ने अवस्थामा प्रधानमन्त्री देखिनुभएको छ,’ नेकपाका एक नेताले भने ।

ओली निकट पूर्व एमाले नेताहरु भने राष्ट्रियसभा सदस्य मनोनयमा प्रचण्डको कुरा सुनिरहन जरुरी नभएको तर्क गर्छन् । प्रतिनिधिसभाको सभामुख चयन गर्ने बेलामा प्रचण्डले पूर्व माओवादीको भाग खोजेका कारण राष्ट्रियसभा सदस्य मनोनयन पूर्व एमालेको भागमा स्वतः पर्ने ओली निकट नेताको भनाइ छ ।

‘सभामुख पद पूर्व माओवादीले पाएकोले सो पदमा फेरि पूर्व माओवादी नै हुनुपर्छ भनेर प्रचण्डले अड्डी कस्नुभयो, त्यो नजिर अनुसार पूर्व एमालेले पाएको पद रिक्त भएमा पूर्व एमालेले नै र पूर्व माओवादीले पाएको पद रिक्त भएमा पूर्व माओवादीले नै पाउने होला, त्यसैले राष्ट्रियसभामा पूर्व एमालेतर्फको पद रिक्त हुन लागेकोले प्रचण्डको सहमति आवश्यक हुन्न,’ ओली निकट एक नेताले भने ।

तर, ओली निकट नेताहरुले भने झै पूर्व एमालेका प्रभावशाली नेताहरु पनि प्रचण्डसँग छन् । पूर्व अध्यक्ष झलनाथ खनाल तथा बरिष्ठ नेता माधव पनि प्रचण्ड नजिक छन् । सचिवालय सदस्यहरुमा महासचिव विष्णु पौडेल र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल पछिल्लो समय ओलीको पक्षमा मौन हुन थालेका स्रोतले बताएको छ । यही कारण ओली सचिवालयमै करिब अल्पमतमा पुगेका बताइएको छ ।

अबको गभर्नर को ?

गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल ५ चैतमा सकिदैछ । नयाँ गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषदले अर्थमन्त्रीको अध्यक्षतमा ३ सदस्यीय सिफारिस समिति गठन गर्नुपर्छ । सिफारिस समितिमा एक जना पूर्व गभर्नर हुनैपर्छ ।

तर, अर्थमन्त्रीको पद नै यकिन छैन । फागुन २० अघि समिति बनाउँदा डा. खतिवडाको अध्यक्षतामा समिति बन्छ । तर, उनको सांसद पद रहेन भने उनी मन्त्री पनि नरहन सक्छन् । यस्तो अवस्थामा अर्थमन्त्रीको हैसियतले डा. खतिवडाको अध्यक्षतामा समिति बन्ने सम्भावना कम छ ।

तर, डा. खतिवडा नै सांसदमा दोहोरिने अवस्था रहेमा उनको मन्त्री पद जाने सम्भावना कम हुन्छ । त्यस्तो अवस्थामा भने नयाँ गभर्नर सिफारिस समिति बनाउन गाह्रो हुने छैन ।

गभर्नर पद रिक्त हुनै लाग्दा आगामी गभर्नर को होला भनेर व्यापक अड्कलबाजी चल्न थालेको छ । अर्थमन्त्री डा. खतिवडासँग नजिक भएर काम गरेका तथा प्रधानमन्त्री ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पनि विश्वास गरेका निवर्तमान अर्थसचिव राजन खनाललाई आगामी गभर्नरको रुपमा हेर्ने गरिएको पनि छ ।

तर, प्रधानमन्त्री ओलीको रोजाईमा खनालभन्दा पनि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नै अगाडि छन् । त्यसैकारण डेपुटी गभर्नर शिवाकोटी नै आगामी गभर्नर हुन सक्छन् भन्ने अड्लबाजी पनि गरिएको छ । यस्तै, राष्ट्र बैंक संचालक समिति सदस्य सुवोधकुमार कर्ण तथा अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि आगामी गभर्नरका लागि आकांक्षी छन् ।

गभर्नरका आकांक्षी धेरै भएपनि अर्थमन्त्रीमा डा. खतिवडाको कार्यकाल दोहोरिने नदोरिने यकिन भएपछि मात्रै अबको गभर्नर को बन्ला भन्ने प्रक्षेपण गर्न अलि सजिलो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.