सेवोन हाक्ने दौडमा आधादर्जन आकांक्षी, आईक्यान अध्यक्षदेखि राष्ट्र बैंकका पूर्व ईडीसम्म

  २०७६ कार्तिक २० गते १०:१३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष खाली भएपनि छनोटका लागि अहिले सम्म कुनै कामकारवाही अघि बढ्न सकेको छैन । राष्ट्रिय योजना आयोग सदस्यको संयोजनमा सेवोन अध्यक्ष छनोट समिति समेत बन्न नसक्दा उक्त काम अघि बढ्न नसकेको हो । राष्ट्रिय योजना आयोगको वित्तीय क्षेत्र हेर्ने सदस्यको संयोजनमा कार्यकारी अध्यक्ष छनोट कार्य सम्पन्न गर्ने सेवोनका एक सञ्चालकले बताए ।

‘तर, अहिलेसम्म छनोट समिति बनेको छैन,’ उनले भने-‘समिति गठनपछिमात्रै छनोट प्रक्रिया अघि बढ्छ ।’ खाली रहेको कार्यकारी अध्यक्षको पद खुला प्रतिस्पर्धाबाट पूर्ति गरिने छ । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको पद खाली भएसँगै आधा दर्जन आकांक्षीहरूले राजनीतिक जोड घटाउ शुरु गरेका छन् । डा.रेवतबहादुर कार्कीको असोज मसान्तबाट ४ वर्षे कार्यकाल पुरा भएको छ ।

बोर्ड अध्यक्षका लागि नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व अध्यक्षदेखि नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक र बोर्डभित्रकै ३ कर्मचारी समेत सो पदका आकांक्षी रहेको बुझिएको छ ।

सेवोन अध्यक्षमा झापा घर भएका आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु बलियो आकांक्षीको रुपमा देखिएका छन् । प्रधानमन्त्री र अर्थमन्त्रीको विभिन्न कुटनीतिक कार्यमा संलग्न रहँदै आएका पनेरु प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडा दुबैको विश्वासपात्र मानिन्छन् । पनेरुले यस अघिनै सेवोन सञ्चालक बनिसकेका छन् भने नेपाल स्टक एक्सचेञ्ज, सीडीएससीको अध्यक्षको पद सम्हाली सकेका छन् । उनी सीडीएससीको संस्थापक अध्यक्ष समेत हुन् ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना बोर्डमा यस अघिनै विज्ञ संचालकको रुपमा नियुक्त भइसकेका छन् । उनलाई अध्यक्ष खाली भएपछि सेवोनको सो पदमा नियुक्त गर्ने गरी विज्ञ संचालकको रुपमा नियुक्त गरेपनि उनको ध्यान भने आगामी चैत ५ गतेबाट राष्ट्र बैंकमा खाली हुने गभर्नर पदतिर आकर्षित भएको छ । ढुंगानाले यस विषयमा खासै चासो देखाएका छैनन् ।

राष्ट्र बैंकका अर्का पूर्व कार्यकारी निर्देशक बासुदेव अधिकारी हाल नेपाल बैंकको अध्यक्ष पदमा रहेपनि उनलाई बोर्डको अध्यक्ष बनाउने आश्वासन यस अघि सरकारले दिएको कुरा बाहिर आएको छ । सरकार निकट भएकाले यति बेला उनको पनि ध्यान राष्ट्र बैंकको गभर्नरमा आकर्षित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.