विनोद चौधरीको अनुभव: सडकमा टाेलाउँदा सुजुकी भित्रियो, एयरपोर्टको कार्टुनले वाईवाई फ्याक्ट्री खुल्याे

  २०७६ वैशाख १५ गते १६:२०     विकासन्युज

काठमाडौं । ‘कहिलेकाहीँ हाँसेको दिनलाई सम्झेर रुनुपर्छ अनि कहिलेकाहीँ रोएको दिनलाई सम्झेर हाँस्नुपर्छ, यो नै जिन्दगी हो ।’ नेपालका एकमात्र अर्बपति विनोद चौधरीले यसो भन्दैगर्दा करिब २५० जना सहभागी रहेको त्रिभुवन विश्वविद्यालय स्मृति भवनको सभाहल तालीले थर्कियो ।

विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागको आयोजनामा भएको कार्यक्रममा उनले विगतका आफ्ना दिनहरुमा गरेका चतुर्याईँपूर्ण निर्णयहरु र साहसका कारण आफु अहिले यो स्थानमा आउन सफल भएको भन्दै व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुमा आफूले भोलिको मार्क जुकरवर्गदेखि विनोद चौधरीको प्रतिविम्ब देखेको बताए ।

उनले वाईवाई चाउचाउको उत्पादन र सुजुकी मोटर्सको डिलरसिपको प्रसंग उठाउँदै अवसरहरु आफैं वरिपरि घुम्ने र त्यसलाई आफ्नो ज्ञान अनुभव र साहसद्वारा सदुपयोग गर्न सक्नुपर्ने धारणा समेत राखे ।

‘१९ वर्षको हुँदा घुमघामकै सिलसिलामा जापान गएको थिएँ । अल्छी लागेर सडकको छेउमा टोलाउँदै गर्दा सुजुकी कम्पनीको गाडी गुडिरहेको देखेँ । त्यहीबेला मेरो मनमा यो गाडीको डिलरसीप लिएर नेपालमा बेच्ने योजना बन्यो । त्योबेला नेपालमा सडक पनि एकदमै कम थिए । गाडी भन्ने कुरा त राजा महाराजाको दरबारमा मात्रै देख्न पाइन्थ्यो, तर मैले त्यसलाई नेपालमा बेचेरै छाड्ने अठोट लिएर कम्पनीसँग कुरा गरेँ ।’–चौधरीले भने ।

उनले आफूले डिलरसीप लिने प्रस्तावलाई त्योबेला कम्पनीका अधिकारीहरुले नपत्याएर छ महिने ट्रायल पिरियड राखेको र त्यो बेलासम्म तोकिएको गाडी बेच्न सके मात्रै डिलरसीपलाई निरन्तरता दिँने बताएको स्मरण गरे । ‘१९ वर्षे ठिटो, बाबुबाजे कपडा ब्यापार गर्ने, तर छोरो गाडीको डिलरसीप गर्छु भन्छ, सुरुमा त कसैले पत्याएनन्, तर मेरो अठोटलाई मैले पुरा गरेरै छाडेँ ।’- उनले भने ।

उनले सुजुकीको डिलरसीपको ट्रायल अवधिमा ६ महिनासम्म नि:शुल्क गाडी चढ्नसक्ने अफर ल्याएको स्मरण पनि गरे । ‘गाडी किनिदेउ भनेर म घरघरमा मार्केटिङ गर्न गएँ, तर कसैले पत्याएनन् । जसरी पनि मलाई डिलरसीप लिएर गाडी व्यापार गर्नु थियो, त्यसैले मैले सबैलाई छ महिना सित्तैमा गाडी चढ्न र चित्त बुझे मात्रै पैसा दिन भनेको थिएँ । मलाई थाहा थियो छ महिना गाडी चढेपछि उनीहरुलाई गाडी चढ्ने बानी पर्छ भनेर, गाडी लिएका कसैले पनि पछि गाडी फिर्ता गरेनन् ।’ चौधरीले स्मरण गरे ।

नेपालजस्तो विकासशील देशमा अवसर नभएको कुनै क्षेत्र नभएको सुनाउँदै उनले वाईवाई चाउचाउको कारखाना खोल्ने योजनाको रोचक प्रसंग पनि सुनाए । ‘म थाइल्यान्ड जाँदा बैंककको एयरपोर्टबाहिर काटुनहरु देखेँ, त्यो के हो भनेर सोध्दा थाइल्यान्डमा उत्पादन भएको वाईवाई चाउचाउ रहेछ । मैले नेपालमा पनि त्यस्तै चाउचाउ फ्याक्ट्री खोल्ने बताउँदै त्यहाँको कम्पनीका प्रमुखसँग प्राविधिक सहयोग मागेँ । तर, मैले त्यहाँ पनि उल्झन सहनुपर्यो । नेपालको बजार सानो भएकोले यहाँ उद्योग स्थापना गरेर फाइदा नहुने सुझाव मलाई दिइयो ।’

चौधरीले विगत सम्झँदै भने- ‘त्योबेला उद्योग स्थापना गरेर सञ्चालन हुन दिनमा कम्तीमा पनि ३० हजार प्याकेट चाउचाउ बिक्नुपथ्र्यो, तर त्यति मात्रामा चाउचाउ बिक्नै नसक्ने सुझाव सबैले दिए । त्योबेला दैनिक ३० हजार प्याकेट नबिक्ने भनिएको वाईवाई चाउचाउ एशिया र युरोपका ३५ देशमा बिक्री हुन्छ ।’

कार्यक्रममा उनले अर्बपति वारेन बफेट, विश्वकै कान्छी अर्बपति केली जिनर देखि बलिउड अभिनेता आमिर खानसम्मको प्रसंग निकाले । उनले भगवानले जोकोही मान्छेलाई पनि कुनै एउटा क्षेत्रमा अपूर्व क्षमता दिने भन्दै त्यसलाई पहिचान गर्ने र सो विषयमा अठोट र धैर्यताका साथ अघि बढ्ने काम मात्रै मान्छेको भएको दाबी गरे ।

‘अबको २५ वर्षपछि मेरो पिक्चर के हुन्छ भन्ने सोच्नुपर्छ, कसैलाई भन्नुपनि पर्छ चाहे अरु किन नहाँसुन्, ठूलै गफ दियो किन नभनुन् ?’ उनले तर यसको लागि समयलाई चिन्नुपर्ने बताउँदै भने- ‘तपाईँ सोच र सपनाको उडान भर्नुस्, नयाँ युगको ठूला बिजिनेसम्यान तपाईँ नै हो, तपाईँहरुको विनोद चौधरी बन्ने दिन टाढा छैन, मार्क जुकरवर्ग, बारेन बफेट पनि बन्न सक्नुहुन्छ ।’

अमेजन, अलिबाबा लगायतका अनलाइन बिक्रेताहरुको प्रसंग निकाल्दै चौधरीले भने- ‘आज संसारका सबैभन्दा ठूलो बिक्रेतासँग न त फ्याक्ट्री छ, न त वायरहाउस नै, यो नयाँ जमानाको व्यापार हो सूचना प्रविधिमा केही नयाँ गर्न खोजौं । अबको समय भनेको डिजिटाइजेसन र आर्टिफिसियल इन्टिलिजेन्सको हो, यसलाई समातेर जुनसुकै व्यवसाय गर्नुहोस् तपाईँको गन्तव्य सफलताबाहेक केही हुन सक्दैन ।’

उनले नेपालमा व्यवसायको लागि राम्रो दिनको सुरुवात भएको समेत दाबी गरे । २५ वर्षमा २४ ओटा सरकार फेरिने हाम्रो देशमा राजनीतिक स्थायित्व आएको छ, सबैको ध्यान विकासमा गयो । देशमा २१०० ओटा पूर्वाधारसम्बन्धी ठूला योजनाहरु निर्माणका लागि अघि बढेका छन्, यो वर्ष पनि ७ प्रतिशत नजिकको आर्थिक वृद्धि हुने सम्भावना देखिएको छ, यसमा मैले भोलिको नेपालको मार्गचित्र देखेको छु ।’ उनले भने ।

उनले आफूले शिक्षा हासिल गरेको विश्वविद्यालय पनि त्रिभुवन विश्वविद्यालय नै भएको भन्दै आगामी दिनमा पनि त्रिविले देशलाई बदल्नसक्ने सोच र संकल्प भएको विद्यार्थी उत्पादन गर्ने सफलताको शुभकामना समेत व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.