
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) शेखर बराललाई आधा दर्जन आरोप लगाउँदै राजीनामा गर्न दबाव दिएको छ । सिर्इओ बरालले राजीनामा गरेर मार्ग प्रशस्त नगरे बर्खास्त गर्ने निचोडमा सञ्चालक समिति पुगेको कम्पनी स्रोतले बतायो ।
सञ्चालकहरुले बीमा समितिसँगको सम्बन्ध सुधार गर्न नसकेको, कर्मचारी व्यवस्थापनमा असफल भएको, कर्मचारी कल्याण कोषको २४ लाख रुपैंयाँ अपचलन गरेको, सिजी इलेक्ट्रोनिक्स आगलागीको भुक्तानी विवाद सल्ट्याउन नसकेकाे, कम्पनीको छवी धमिल्याएको, प्रिमियम अाम्दानी घटेकाे, नाफा बढाउन नसकेको जस्ता आरोप लगाउँदै बराललाई राजीनामा गर्न भनेका हुन् ।
अाइतबारसम्म बरालले राजीनामा गरेका छैनन् । सञ्चालकहरुले राजीनामा गर्न भनेपछि सिर्इओ बराल कार्यालय नियमित जान छाेडेका छन् ।
विवाद नमिले हकप्रद सेयर राेकिने
बीमा समितिले केहि दिन अघि युनाइेटडका सञ्चालकहरुलाई बोलाएर सिजी इलेक्ट्रोनिक्सलाई गरिएको २४ करोड रुपैयाँ भुक्तानी फिर्ता नगरे हकप्रद सेयर निष्काशन गर्न नदिने चेतावनी दिएको छ । पछिल्लो समय युनाईटेड इन्स्योरेन्सले बीमा समितिलाई हरेक निर्णयमा चुनौती दिँदै आईरहेको छ ।
‘बीमा समितिका लागि युनाईटेड इन्स्योरेन्स टाउको दुखाईको बिषय बन्दै आएको छ, संस्थागत सुशासन पनि छैन्, अनि अदालतमा पनि उसैले धेरै डोर्याईरहेको छ’, बीमा समितिका एक अधिकारीले भने ।