काठमाडौं । नेपाल सरकारका सह–सचिव तुलसीप्रसाद गौतम कर्मचारी सञ्चय कोषको प्रशासकमा नियुक्त भएपछि सोमबार कोषमा पदबहाली गरेका छन् । गौतम अागामी ५ (पाँच) वर्षको लागि प्रशासकमा नियुक्त भएका हुन् ।
सह-सचिव गौतमलाई नेपाल सरकार (मन्त्रीपरिषद) को बैठकले कोषको प्रशासक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । प्रशासक गौतमले आगामी एक महिनाभित्र नेपाल सरकार, अर्थमंत्रालयसँग आगामी ५ वर्षका लागि सम्पादन गर्नुपर्ने कामको मापनयोग्य लक्ष्य र सूचकहरु सहितको कार्य सम्पादन सम्झौता गर्नुपर्ने छ ।
उनले नेपालको सार्वजनिक प्रशासनमा २७ वर्षदेखि नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही अनुभव प्राप्त गरेका छन् । आफ्नो पद बहालीका क्रममा प्रशासक गौतमले कोषमा कार्यरत रहुञ्जेल सञ्चयकर्ताको उच्चतम हित र कोषको छवी उच्च राख्न तथा उच्चस्तरको सँस्थागत सुशासन कायम राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पदबहाली कार्यक्रममा कोषमा कार्यरत उच्च पदस्थ अधिकारी, कोषमा कार्यरत ट्रेड युनियनका पदाधिकारी लगायत अन्य कर्मचारीहरुले प्रशासक गौतमको सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।