काठमाडौं । ‘हामी भन्सार प्रणाली सुधारको अभियानमा छौं । करको दरका विषयमा कुरा गर्दैनौं, दायराको कुरा गर्छाै’ चालु आर्थिक वर्षको बजेटको मध्यावधि समिक्षामा अर्थमन्त्री डा. युवराज खतिवडाले भने-‘हामी सन्दर्भ पुस्तकलाई अलि बढि जोड दिन्छौं । भन्सारमा कम मूल्यांकन गरेर छोडिदिने र दरबार मार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य हुनु पर्छ । हामी मुहान नै सफा गर्ने अभियानमा छौं ।’

अर्थमन्त्री डा. युवराज खतिवडालाई बधाई दिन अर्थमन्त्रालय पुगेको नेपाल उद्योग बाणिज्य महासंघको टोली
उनले फागुन १६ गते बधाई दिन आएको नेपाल उद्योग बाणिज्य महासंघको नेतृत्वलाई पनि मुहान सफाईकै कुरा सुनाएका थिए । ‘अब सिधै मुहान नै सफा गर्ने हो । मुहान सफा नगरि तल मात्रै फोेहर टिपेर केहि हुन्न । भन्सार विन्दुमै कडाई गरिन्छ । भन्सार मूल्यांकनलाई कडा गरेर राजश्वसँग सम्बन्धित सबै समस्याको हल हुन्छ । भन्सार मुल्यांकनदेखि छल्ने प्रक्रियासम्म छुने गरि राजश्व प्रशासन र प्रणालीमा व्यापक सुधार गरिनेछ ।’ खतिवडाले मुहान सफाई अभियानबारे महासंघ नेतृत्वलाई स्पष्ट पारेकै साँझदेखि भन्सार मूल्यांकनमा सन्दर्भ पुस्तिका अघि सारिएको थियो ।
तर निजी क्षेत्र भने सन्दर्भ पुस्तक अघि सार्ने अर्थमन्त्रीको निर्देशनसँग सन्तुष्ठ छैन् । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भन्सार विन्दुमा सन्दर्भ पुस्तक अघि सारिएपछि व्यवसायीहरुको व्यापक गुनासो आउन थालेको बताए । ‘साथीहरुको व्यापक गुनासो आईरहेको छ, बजार मूल्य भन्दा धेरै शुल्क निर्धारण भैरहेको भनिरहेका छन्’, गोल्छाले भने ।
उनले सामानको वास्तविक मूल्यका आधारमा भन्सार मूल्यांकन गरिनु पर्नेमा जोड दिए । भन्सार विन्दुमा प्रणालीले काम गर्नु पर्नेमा जोड दिँदै उनले सन्दर्भ पुस्तक अघि सार्दा व्यक्ति (भन्सार अघिकृत) हावी भैरहेको आरोप पनि लगाए । ‘हामीले व्यक्तिलाई होइन प्रणालीलाई बलियो बनाऔं भन्दै आएका छौं, सन्दर्भ पुस्तकले भन्सारमा व्यक्ति हावी हुने अवस्था आउँछ, त्यसमा कर प्रणालीले काम गर्नुपर्छ’, गोल्छले भने ।दैनिक २/३ पटक सामानको बजार मूल्यमा उतार चढाव हुने गरेको तर सन्दर्भ पुस्तकले एक वर्षसम्म एउटै मूल्य कायम गराउने भएकाले पनि व्यवसायी मारमा परिरहेको उनको ठम्याई छ । ‘बजार मूल्य छिनछिनमा उतार चढाव हुन्छ । सन्दर्भ पुस्तकले एक वर्षसम्म मूल्यको प्रतिनिधित्व गर्न सक्दैन्’ उनले भने ।
व्यवसायीको फर्म अडिट गर्ने अधिकार सरकारसँग भएको र भन्सार मूल्यांकनमा शंका लागे सरकारले ५ प्रतिशत बढि मूल्य तिरेर समान खरिद गर्ने सुबिधा उपयोग गर्नुपर्नेमा उनले जोड लिए । ‘हामीले प्रणाली स्थापित होस, सिस्टमले सबै कुरा निर्धारण गरोस व्यक्तिले होइन भन्दै आएका छौं । सन्दर्भ पुस्तिकाले व्यवसायीहरुलाई साह्रै दुःख दिईरहेको छ ।’, गोल्छाले गुनासो पोखे ।
गोल्छाले माघ ११ गते सेजनले अायाेजना गरेकाे एक कार्यक्रममा भनेका थिए-‘सन्दर्भ पुस्तक नामको कालो किताबले भन्सारमा दुःख दिईरहेको छ, म राजश्व सचिवलाई भन्न चाहान्छु, त्यस्तो कालो किताब तत्कालै खारेज गरियोस ।’ निजी क्षेत्रले मूल्य नियन्त्रण सम्बन्धि एेनलार्इ कालाे एेनकाे संज्ञा दिदै अाएका छन् भने भन्सार सन्दर्भ पुस्तकलार्इ कालाे पुस्तक भन्दै खारेजकाे माग गर्दै अाएकाे छ ।
उता, नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवालले पनि सन्दर्भ पुस्तकलाई सापेक्ष बनाइनुपर्ने धारणा राखे । ‘सन्दर्भ मूल्यलाई सापेक्ष बनाइनु पर्छ । समानको मूल्य इन्टरनेटमा एक छिनमै हेर्न सकिन्छ । बजारमा वस्तुको मूल्य क्षण क्षणमा परिवर्तन पनि भैरहेको हुन्छ । त्यसकारण सन्दर्भ पुस्तकलाई सापेक्ष बनाईनुपर्छ’, अग्रवालले भने ।
नेपाल उद्योग बाणिज्य महसंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पनि सन्दर्भ पुस्तकलाई मात्रै आधार बनाइनु व्यवहारिक नहुने बताए । ‘सरकारले राजश्व अपचलनलाई रोक्न खोज्नु साह्रै राम्रो काम हो तर भन्सार विन्दुमा सन्दर्भ पुस्तकलाई मात्रै अघि सारिनु चाँही त्यति व्यवहारिक हुन्न’, मुरारकाले भने ।
उनले भन्सारमा पेश गरिएको मूल्यमा शंका लागे सरकारले खरिद गर्न सक्ने कानुनी व्यवस्था हुँदाहुँदै व्यवसायी माथिअनावश्यक अविश्वास गरिएको पनि बताए । ‘दिनमै २।३ पटक मूल्यमा परिवर्तन भैरहेको हुन्छ, शंका लागे सरकारले आफैं किन्न पनि सक्छ । कानुन अनुसार नै भन्सार नियमन गरिनुपर्छ, मुरारकाले भने ।
व्यवसायीहरुले सन्दर्भ पुस्तकका कारण भविष्यमा न्युन विजकीकरण अझै बढ्न सक्ने आंशका पनि व्यक्त गरेका छन् । निरन्तर उतारचढाव भैरहेको बजार मूल्यलाई सन्दर्भ पुस्तकले समेट्न नसक्ने र त्यसले न्युनविजकीकरणलाई बढाउने उनीहरुको तर्क छ । खुद्रा व्यापारसम्म विलविजक अनिवार्य नगरिसम्म राजश्वसको समस्या समाधान नहुने पनि उनीहरुको तर्क छ ।