काठमाडौं । ‘सन्दर्भ पुस्तक नामको कालो किताबले भन्सारमा दुःख दिईरहेको छ, म राजश्व सचिवलाई भन्न चाहान्छु, त्यस्तो कालो किताब तत्कालै खारेज गरियोस’, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बिहीबार एक कार्यक्रममा भने ।
उनले भन्सारमा हुने मूल्यांकन प्रणालीले उद्योगी व्यवसायीलाई साह्रै दुःख दिएको भन्दै सन्दर्भ पुुस्तकलाई तत्काल खारेज गर्न माग गरे । सन्दर्भ पुस्तकमा रहेको छिद्र प्रयोग गरेर भन्सार कर्मचारीले निजी क्षेत्रलाई दुःख दिएको बताउँदै त्यस्तो पुस्तक तत्काल खारेज गर्न माग गरे ।
गोल्छाले भन्सारको सन्दर्भ पुस्तकलाई कालो किताब भनेकोमा राजश्व सचिव शिशिर ढुंगानाले भने आपत्ति जनाए । राजश्व सचिव ढुंगानाले कड्किदैँ भने–यो कालो पुस्तक होइन, उद्योगीले सामानको सहि विल पस्किनुस, हामी त्यसैलाई मान्यता दिन्छौं तर त्यहि बस्तु त्यहि रुटबाट आउँदा फरक फरक विल पेश गर्छन अनि सन्दर्भ पुस्तक नपल्टाएर के गर्ने ?, मेरा भनाई यत्ति हो ।’
उनले भन्सारका कर्मचारीले वस्तुको मूल्य कति हो नजान्ने बताउँदै भने–कृष्ण मन्दिर कसले बनाएको भन्ने प्रश्नको उत्तर पढेर जागिर खाएको मैले समानको मूल्य कति हो जान्दिन, तर व्यापारीले सहि मुल्यका बिल पेश गर्नु परो ।’राजश्व सचिव ढुंगानाले कर्मचारीलाई मात्रै नभएर उद्योगी व्यवसायीका हकमा पनि इमानदारीताको प्रश्न आउने पनि स्पष्ट पारे ।
उनले कच्चा पदार्थ र तयारी पदार्थको भन्सार दर फरक भएको व्यवसायीको आरोपको पनि खण्डन गरे ।‘कच्चा र सच्चाको परिभाषा के हो ? कागज कच्चा पदार्थ हो की तयारी पदार्थ ?, हामीले स्वदेशी उद्योगको संरक्षण हुने गरि नै भन्सार नीति बनाएका छौं’, ढुंगानाले भने ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका महासचिव कमलेश कुमार अग्रवालले व्यवसायीलाई चोर डाँकाको नजर नहेर्न आग्रह गरे । ‘राज्यले बनाउने ऐन कानुन चोर डाकुँका लागि होइन व्यवसायीका लागि हुनु पर्याे’, अग्रवालले भने । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण अधिकारीले भन्सार नीतिका कारण नेपाली उद्योग धन्दा बन्द हुँदै गएको आरोप लगाए । विश्व व्यापार संगठन, विश्व बैंक लगायतका संस्थाहरुको लिगेसीका पछि लागेर नेपालले स्वदेशी उद्योग धन्दाहरु मस्दै गएको आरोप पनि लगाएका थिए ।