काठमाडौं । आशा लघुवित्त संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामेश्वर सापकोटा निर्वाचित भएका छन् । आशा लघुवित्त वित्तीय संस्था लि.को प्रथम बार्षिक साधारण सभाबाट निर्वाचित संचालक रामेश्वर सापकोटालाई वित्तीय संस्थाको संचालक समितिको बैठकबाट अध्यक्ष छनौट गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष रामेश्वर सापकोटाले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण कार्यक्रममा संस्थाका संचालक प्रदीपकुमार खड्का, प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलाल तथा वित्त विभाग प्रमुख प्रमोद भट्टराईको उपस्थिति रहेको थियो ।
मंसीर २३ गते सम्पन्न भएको संस्थाको प्रथम बार्षिक साधारण सभाबाट सापकोटा सहित निर्गुण प्रसाद भट्टचन, प्रदीपकुमार खड्का तथा हेमन्त पौडेल संचालकमा निर्वाचित भएका थिए । सो साधारण सभाले संस्थाको जारी पूँजी १० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने निर्णय समेत गरेको छ ।
भदौ १५ गते कारोबार शुरु गरेको लघुवित्त संस्थाले हाल देशभरीका ३६ वटा शाखाहरु मार्फत २३ हजार सदस्यहरुलाई वित्तीय सेवाहरु उपलब्ध गराउँदै करीब ७७ करोड कर्जा लगानीमा रहिरहेको तथा १२ करोड बचत संकलन गरेको छ ।