सगरमाथा इन्स्योरेन्सले दुई वर्षको नाफाबाट एकै पटक बोनस सेयर दिने

<p>काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफा एकै पटक वितरण गर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार तोकिएको समयमा चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउने र सकेसम्म धेरै बोनस सेयर वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । ‘कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ नाफाबाट करिब ३७ करोड [&hellip;]</p>

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफा एकै पटक वितरण गर्ने भएको छ । बीमा समितिको निर्देशन अनुसार तोकिएको समयमा चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउने र सकेसम्म धेरै बोनस सेयर वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

‘कम्पनीले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ नाफाबाट करिब ३७ करोड बोनस सेयर वितरण गर्ने र करिब १० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गरी पुँजी वृद्धि योजना बीमा समितिलाई बुझाएको छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले भने–‘सकेसम्म हकप्रद सेयर निष्काशन गर्न नपारोस्, बोनस सेयर वितरण गरेर नै १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकियोस् भन्ने कम्पनीको चाहाना हो ।’

आर्थिक वर्ष २०७३/७४मा कम्पनीको खुद नाफा २७ करोड ६२ लाख रुपैयाँ भएको उनले जानकारी दिए । त्यसबाट नियमअनुसार ११ करोड ९ लाख रुपैयाँ बीमा कोष, महाविपत्ति कोषमा राखेको भने वितरणयोग्य नाफा १६ करोड ५३ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ ।

चुक्ता पुँजी ५३ करोड ८२ लाख रुपैयाँ रहेको यस कम्पनीको बीमा कोष पनि ५३ अर्ब ८२ करोड भएको छ । बीमा समितिको नियम अनुसार चुक्ता पुँजी सरह बीमा कोष रकम नपुगेसम्म खुद नाफाको ५० प्रतिशत रकम बीमा कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

आगामी वर्षको खुद नाफाबाट १० प्रतिशत महाविपत्ति कोषमा राखी बाँकी रकम बोनस सेयरको रुपमा लगानीकर्तालाई वितरण गर्ने कम्पनीको योजना रहेको पाइएको छ ।

गत वर्षको नाफा यस वर्ष सेयरधनीलाई वितरण नगर्ने निणर्य सञ्चालक समितिले गरेको छ । ‘कम्पनी नाफामा छ । लाभांश वितरण गर्ने अवस्थामा छ’ उनले भने ‘लाभांश वितरण शैली कम्पनी अनुसार फरक हुन सक्छ ।’

सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन वर्षअघि एक पटक लाभांश स्थगित गरेको थियो । त्यसपछिको वर्ष १२९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News