काठमाडौं । अमेरिकी डलरमा केहि सकारात्मक संकेत देखिएपछि सुनको भाउ ओरालो लागेको छ । यद्दपी उत्तर कोरियाको आणविक परीक्षणले सम्भावित द्वन्द्वको सन्त्रास लगानीकर्तामा बढेको छ ।

रोयटर्सका अनुसार अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने हल्ला बाहिर आएपछि बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स १० अमेरिकी डलरले घटेको छ । सुनको भाउ अन्तराष्ट्रिय बजारमा न्युनतम प्रति आउन्स १२३० डलरसम्म घट्ने पछिल्लो अनुमान छ ।
उत्तर कोरियाले मंगलबार जापानको होकाइडो टापुमाथि मिसाइल परिक्षण गरेपछि यसले अरु क्षेप्यास्त्र पनि प्रहार गर्ने विश्वमा त्रास बढेको हो । कोरियाले मिसाइल परीक्षण गरेपछि विश्व बजारमा त्यसको प्रभाव पहेलो धातु सुनको भाउ उकालो लागेको थियो ।
मिसाइल परीक्षणपछि उत्तर कोरियाको सबै किसिमका शक्ति प्रदर्शनको प्रत्योत्तर अमेरिकाले दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका थिए ।
दुई शक्तिशाली मुलुकबीच रस्साकस्सीका कारण विश्वबजार आतंकित भएका छन् । यस्तोमा लगानीकर्ताहरु लगानी सुरक्षित राख्न सुनमा लगानी गर्न चाहन्छन्। यसले सुनको माग बढेसँगे भाउ पनि एक्कासी बढेको हो ।
मंगलबार अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति आउन्स २३ अमेरिकी डलरले बढेको थियो । सोमबार प्रति आउन्स १२९४ डलर रहेको सुनको भाउ मंगलबार एकै पटक १३१७.२० डलर प्रति आउन्समा पुगेको थियो ।
तत्काल अन्तराष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ अधिकतम प्रति आउन्स १३५० डलरसम्म पुग्ने प्रक्षेपण गरेको थियो । यद्दपी बिहीबारको गिरावटसँगै सुनको भाउ न्युनतम १२३० सम्म घट्ने पछिल्लो अनुमान छ ।
विश्व ईतिहासमा हरेक ठुला राष्ट्रबीचको द्वन्द्व तथा शक्तिशाली युद्धमा सुनको भाउ सधै बढ्ने गरेको पाइन्छ । सन् १९७१को भियतनाम र अमेरिका बीचको युद्धका समयमा सुनको भाउ अचानक मात्रामा वृद्धि भएको थियो । प्रति आउन्स ७५ अमेरिकी डलर रहेको सुनको भाउ युद्ध सुरु भएपछि ८०० अमेरिकी डलर पुगेको थियो ।
भियतनाम युद्ध पछि उकालो लागेको सुनको भाउ सन् २००२ मा चीनले विश्वबजार प्रवेश गरेसँगै वृद्धि हुँदै गयो । चीनको उच्च जनसंख्याले विश्व बजारमा प्रवेश पाएपछि सुनको माग बढ्न थाल्यो र सुनको भाउ आकाशिन थाल्यो।
नेपाली बजारमा प्रभाव
उत्तर कोरियाको मंगलबारको मिसाइल प्रहारपछि नेपाली बजारमा सुनको भाउ मंगलबार प्रति तोला एक हजार रुपैयाँले बढेर ५६ हजार पाँच सय प्रति तोला पुग्यो । सोमबार सुनको भाउ ५५ हजार ५०० रुपैयाँ प्रति तोलामा कारोबार भइरहेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेर प्रति तोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको भाउ तोलामा ५३ हजार ३०० रुपैयाँ पुगेको थियो ।
अन्तराष्ट्रिय बजारमा आएको गिरावट सँगै नेपालमा पनि सुनको भाउ पनि ओरालो लागिरहेको महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले बताए ।
सुनको माग
सुनको भाउ तलमाथी हुँदा पनि नेपाली बजारमा सुनको माग भने यथावत नै रहेको उनले बताए । उनले भने, ‘अहिले दैनिक सुनको माग २५ देखि ३० किलोको हाराहारीमा छ ।’
गत वर्ष तीजमा दैनिक ४५ किलोसम्म कारोबार हुने गरेको सुन यसपाली बाढीपहिरोका कारण मुश्किलले ३५ किलो मात्र बिकेको उनले बताए । उनले भने, ‘नेपालको दुर्भाग्य भन्नुपर्छ – कहिले भुकम्प र नाकाबन्दी त कहिले बाढीपहिरोले नेपाली सुनबजारलाई प्रभावित पारिरहेको छ ।’ यसपाली दसैं तिहारमा सुनको माग ५० किलोसम्म पुग्नसक्ने अनुमान गरिएको छ ।