नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम, बजार मूल्य १ खर्ब ६ अर्ब

<p>काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम विन्दुमा पुगेको छ । सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भयो । यो मूल्य २०६५ सालयताको अधिकतम मूल्य हो । सोमबार कम्पनीको पूँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । २०६५ भदौमा टेलिकमको सेयर प्रतिकित्ता करिव १४०० रुपैयाँमा कारोबार भएको थियो । २०६७ [&hellip;]</p>

काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम विन्दुमा पुगेको छ । सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भयो । यो मूल्य २०६५ सालयताको अधिकतम मूल्य हो । सोमबार कम्पनीको पूँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ ।

२०६५ भदौमा टेलिकमको सेयर प्रतिकित्ता करिव १४०० रुपैयाँमा कारोबार भएको थियो । २०६७ सालमा यस कम्पनीको सेयर मूल्य घटेर ३५० रुपैयाँसम्म झरेको थियो ।

गत वर्ष नेप्से परिसूचक १८८१ रुपैयाँ पुग्दा पनि नेपाल टेलिकमको सेयर मूल्य ७०६ रुपैयाँ भन्दा माथि जान सकेको थिएन । गत चैत १ गते यस कम्पनीको सेयर मूल्य ६२० रुपैयाँमा झरेको थियो ।

किन बढ्यो मूल्य

कम्पनीको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गत साता संसदीय समिति बोल्दै टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको बताएकी थिइन् । उनको भनाई सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेको छ ।

कम्पनीले गत वर्ष गरेको नाफा चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो ।

नेप्सेमा सूचिकृत कम्पनीमध्ये सेयर पुँजी, वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो ।

टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्ममा कम्पनीको संचित कोषमा ७४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ र कम्पनीको इक्विटी करिब ९० अर्ब रुपैयाँ पुगेको छ ।

बजारमा अरु कम्पनीको तुलनामा नेपाल टेलिकमको सेयर सस्तो छ । कम्पनीका प्रतिसेयर आम्दानी १०३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५९९ रुपैयाँ छ ।

प्रतिसेयर नेटवर्थको ५ गुणा बढी मूल्यको सेयरलाई जोखिम मुक्त सेयर मानिने गरेको नेपाल स्टक एक्स्चेञ्जका सहायक प्रवक्ता मुराहरि पराजुली बताउँछन् । यस आधारमा टेलिकमको सेयर मूल्य सस्तो र कम जोखिमयुक्त मान्न सकिने उनको भनाई छ ।

नेपाल टेलिकमको सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न थालेको कालिका सेक्यूरिटीजका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । बैंकिङ क्षेत्रमा तरलता वृद्धिसँगै सेयरमा लगानी वृद्धि हुन थालेको छ । ‘बैंकहरुले बैंक तथा फाइनान्सको सेयर किन्न पाउँदैनन्, बीमा क्षेत्रको सेयर मूल्य माथि हुनुको साथै धेरै परिमाणमा किन्नको लागि सेयर नै पाइदैन’ सिजापति भन्छन्–‘टेलिकम कम्पनी पनि राम्रो छ, धेरै सेयर किन्न पनि पाइन्छ ।’

कम्पनीले प्रत्येक वर्ष ४० देखि ५० प्रतिशत नगद लाभांश वितरण गर्दै आएको छ । गत गर्षको नाफाबाट कम्पनीले २० प्रतिशत संचित कोषमा जम्मा गरेर पनि सेयर धनीलाई ८० प्रतिशत लाभांश दिन सक्छ । तर कम्पनीले लाभांश दरमा क्रमिक वृद्धि गर्ने नीति लिएमा ६० देखि ७० प्रतिशत नगद लाभांश वितरण गर्न सक्छ ।

Share News