विश्वमा पाँच करोड २६ लाख व्यक्ति घरेलु श्रमिक, काठमाडौंमा मात्रै चालिस हजार

<p>काठमाडौं। काठमाडौंमा ४० हजार घरेलु श्रमिक रहेका छन् । स्वतन्त्रता अभियान नेपालले दिएको जानकारीअनुसार डिस्को, बार, होटल, रेस्टुराँलगायतमा सो परिमाणमा घरेलु श्रमिक रहेका छन् । बेरोजगार अशिक्षालगायत समस्याका कारण काठमाडौँमा श्रमिकको सङ्ख्या बढेको हो । काठमाडौंमा घरेलु श्रमिकको सङ्ख्या माग सङ्ख्याको ७३ प्रतिशत हो । स्वतन्त्रता अभियान नेपालका कार्यालय प्रमुख ऋतु भट्टराईका अनुसार विश्वमा पाँच करोड [&hellip;]</p>

काठमाडौं। काठमाडौंमा ४० हजार घरेलु श्रमिक रहेका छन् । स्वतन्त्रता अभियान नेपालले दिएको जानकारीअनुसार डिस्को, बार, होटल, रेस्टुराँलगायतमा सो परिमाणमा घरेलु श्रमिक रहेका छन् । बेरोजगार अशिक्षालगायत समस्याका कारण काठमाडौँमा श्रमिकको सङ्ख्या बढेको हो । काठमाडौंमा घरेलु श्रमिकको सङ्ख्या माग सङ्ख्याको ७३ प्रतिशत हो ।

स्वतन्त्रता अभियान नेपालका कार्यालय प्रमुख ऋतु भट्टराईका अनुसार विश्वमा पाँच करोड २६ लाख व्यक्ति घरेलु श्रमिक रहेको बताउछन् । उनी भन्छन्,“नेपालमा मात्र दुई लाख घरेलु श्रमिक श्रममा संलग्न छन् ।”

अन्यन्तै न्यून ज्याला, काममा लिखित सम्झौता नहुनु, कानुनी पहिचानको अभाव, यौन हिंसा र दुव्र्यवहारजस्ता घटना घरेलु श्रमिकले भोग्दै आएको भट्टराई बताउँछन् ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपालका कार्यकारी निर्देशक बेनुमाया गुरुङ नेपालमा एक लाख बालबालिका निकृष्ट श्रम र छ लाख २१ हजार बालबालिकाले जोखिमपूर्ण श्रम गरिरहेको बताउँछन् । नेपालमा बर्सेनि १० हजारदेखि १२ हजार महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेका छन् ।

केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिकाका लागि खुला स्थान, मनोरञ्जन, सिकाइस्थल नहुनु, हेला, उपेक्षा, दुव्र्यवहार, हिंसा, शोषणलगायत समस्याका कारण बालबालिका सडकमा आउने गरेका छन् । काठमाडौंमा कुल जनसङ्ख्याको ३५ प्रतिशत बालबालिका छन् ।

स्वतन्त्रता अभियान नेपालले आज यहाँ आयोजना गरेको स्थानीय तहमा बाल संरक्षण तथा श्रमिक अधिकार संरक्षणका सम्बन्धमा काठमाडौं उपत्यकाका नवनिर्वाचित जनप्रतिनिधिसँगको कार्यशाला गोष्ठीमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले श्रमिक क्षेत्रमा लागेका महिला तथा बालबालिकाको समस्या समाधानमा महानगरपालिका गम्भीर भएर लाग्ने बताए ।

“महिला, बालबालिका, अपाङ्ग, दलित, अल्पसङ्ख्यक, मुस्लिमका लागि महानगरको कुल बजेटको ३५ प्रतिशत खर्च गर्ने व्यवस्था छ, उक्त रकमलाई यस्ता काममा खर्च गर्न सकिन्छ,” उनले भने । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि महानगरपालिका जुटेको उनको भनाइ थियो । सरकारी तथा गैरसरकारी क्षेत्रको राय र सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण गरीने उनले बताए ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी महिला तथा बालबालिका बेचबिखन समस्या काठमाडौंमा बढ्दै गएकाले यसलाई रोक्न महानगरपालिका लाग्ने बताउँछन् ।

काठमाडौंको नयाँ बसपार्क, ठमेल, गौशाला, कलङ्की, कोटेश्वरलगायत ठाउँका होटल, रेस्टुराँ, डान्सबार, दोहोरीमा महिला तथा बालबालिकाको बढी प्रयोग भएको पाइएको छ । कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोललगायतले घरेलु श्रमिक तथा बालबालिकाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारी तथा गैरसरकारी क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिएका थिए । रासस

Share News