काठमाडौं । सेयर आवेदन प्रणाली सरल बनाउन लागू गरिएको आश्वा प्रणालीमा कार्यान्वयनमा गम्भिर समस्या देखिएको छ । प्रणालीगत रुपमा देखिएको समस्याका कारण स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा लगानी गर्ने आवेदन गर्ने ४ हजार २१९ लगानीकर्ता प्रक्रियाबाट बाहिरिनु परेको छ ।

धेरै व्यक्तिले एउटै हितग्राही परिचय नम्बर (विओआईडी) उल्लेख गरि आवदेन गर्ने, आश्वा फारमको नमूना र आकार कम्पनी पिच्छे फरक हुने, आवेदकहरुको नाम जुध्ने जस्ता समस्याले आश्वा प्रणाली प्रयोगमा समस्या देखिएको बताईएको छ ।
आश्वा प्रणाली विश्वको उत्कृष्ट प्रणाली भए पनि लगानीकर्ता जागरुक नभएकोले समस्या भएको एनएमवी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए । स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ बाँडफाँड बैशाख २२ गते गर्ने तय भएपनि सिष्टममा देखिएको समस्याले गर्दा ३ दिन ढिला भएको उनले जानकारी दिए ।
‘सिस्टममा समस्या देखियो, लगानीकर्ताहरु मर्कामा पर्ने देखियो, हामीले धितोपत्र बोर्डलाई पनि जानकारी गरायौं, स्ट्याण्डर्ड चाटर्ड बैंकलाई पनि जानकारी गरायौं । धितोपत्र बोर्डका प्रतिनिधिहरु आएर सबै हेर्नुभयो । उहाँहरुले पनि समस्या बुझ्नुभयो’ सेयर बाँडफाँड कार्यक्रममा घिमिरेले भने–‘हामी सबैले छलफल गर्यौ । केही दिन ढिला भएर केही विग्रदैन तर लगानीकर्ताको हितमा काम गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष थियो । र अन्तिममा प्रक्रिया पुरा गरेर आउने सबै लगानीकर्तालाई सेयर बाँडफाँड हुने सिस्टममा ल्याउन सफल भयौं ।’
एनएमबी क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल प्रसाद गौतमका अनुसार ४ हजार २१९को आवेदन रद्द भएको छ । दोहोरो विओआईडी भएका, विओआईडी उल्लेख नगरी आवदेन गरेका, गलत विओआईडी उल्लेख गरिएका र अडकित्ता माग गर्ने आवेदकलाई सेयर वितरण गरिएको छैन ।
९ कित्ता, १२ कित्ता, १३ कित्ता जस्तो अड कित्ता सेयर माग उल्लेख्य मात्रमा भएको र यस्तो अड आवेदन गर्नेमा ९५ प्रतिशत आश्वा प्रणाली अन्तरगत बैंक तथा वित्तीय संस्थाबाट आएको गौतमले बताए । त्यस्तै १५१ जनाले २/२ वटा गरी १०२ वटा आवेदन गरेकोले उनीहरुको आवेदन रद्द गरिएको छ । ‘बाहु र बाजेको नाम जुदेपछि सिस्टमले दोहोरो आवेदन परेको देखाउँछ । त्यसकारण उनीहरु आउट भए’ गौतमले व्याख्या गरे ।
केही आवेदनमा विओआईडी फरक, नागरिकता जारी भएको जिल्ला फरक, नागरिकता नम्बर फरक भएपनि आवेदक, उसको बुबा र बाजेको नाम मिल्न गएकोले समस्या आएको उनले बताए । यस्तो समस्याबारे आफूहरुले धितोपत्र बोर्डलाई जानकारी गराएको उनले बताए ।
आफ्नो विओआईडी विर्सेका व्यक्तिले सम्बन्धित संस्थामा आफ्नो नामका आधारमा विओआईडी खोजी गर्ने तर तीन पुस्ताको नाम जाँच नगरि विओआईडी लिएर आवेदन गर्ने आवेदकहरु मध्येबाट एउटै विओआईडी उल्लेख गरी धेरै जनाले आवेदन गरेको पाइएको उनले बताए ।
‘ललितपुर ठेगाना उल्लेख रहेको शान्ति महर्जनको नामबाट ७ वटा आवदेन परेका छन्’ यस्तो अवस्थामा हामीले विओआईडी हेर्ने हो, विओआईडी पनि जुधेको अवस्थामा उनीहरु प्रक्रियाबाट वाहिरीएका छन्’ उनले भने ।
सेयर आवेदन गर्ने प्रणालीमा सुधार भईरहे पनि नयाँ प्रणाली पूर्णरुपमा सहि छन् भनेर ठोकुवा गर्ने अवस्था नभएको बताए । हरेक बैंकले आश्वा प्रणालीको फारम फरक आकार र डिजाईनमा भएकोले डाटा संकलन र रुजु गर्ने कठिन भएको उनले बताए ।