काठमाडौं । नेकपा(एमाले)ले आसन्न स्थानिय तह निर्वाचनका लागि महत्वकांक्षी घोषणा पत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सोमबार सार्वजनिक गरेको घोषणा पत्रमा १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनदेखि प्रसान्त महासागर र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्नेसम्मका योजना समेटिएका छन् ।

एमालेले आगामी पाँच बर्षभित्रै काठमाडौं–निजगढ फास्ट ट्रयाक, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न गर्ने, पुर्व पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, वृद्धभत्ता पाँच हजार पुर्याउने, सरकारी अस्पतालमा पुग्ने सत्केरीलाई पाँच हजार प्रोत्साहन भत्ता दिने, ३ बर्षभित्रै एक घर एक रोजगारी सृजना गर्ने, पाँच बर्षभित्र सबै नेपालीलाई साक्षर बनाउने लगायतका महत्वकांक्षी योजना समेटिएको घोषणा पत्र सार्वजनिक गरेको हो ।

१) सडक पुर्वाधारः फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडी पाँच बर्षभित्रै
एमाले घोषणा पत्रमा आगामी पाँच बर्षभित्रै फास्ट ट्रयाक, हुलाकी राजमार्ग, मध्यपहाडीको निर्माण सम्पन्न गर्ने उल्लेख छ । मध्यपहाडी लोकमार्गलाई चार लेन बनाउने पनि एमालेले बताएको छ । त्यस्तै, पुर्व पश्चिम राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्ने, उत्तर दक्षिण सडकहरुलाई चार लेनको बनाउने, हिमाली जिल्लाहरुबाट चीनसम्म पुग्ने सडकलाई दुई लेनको बनाउने, इलामदेखि डडेलधुरासम्म भित्रि तराई हुँदै औद्योगीक करिडोर राजमार्ग बनाउने एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ ।
२) हवाई र जलमार्गः समुन्द्रमा ध्वजा बाहक पानी जहाज
एमालेले प्रसान्त र हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज सञ्चालन गर्ने बताएको छ । त्यसका लागि आवश्यक कानुनी तथा पुर्वाधार तयार गरेर भारत, चीन, र बंगलादेशसँग वार्ता गर्ने एमाले घोषणा पत्रमा उल्लेख छ । १० बर्षभित्रै निजगढ विमानस्थल निर्माण गरेर सञ्चालन गरिसक्ने एमाले दावी छ ।
३) उपत्यकालाई मेगा सिटी
एमालेले काठमाडौं, भक्तपुर र ललितपुरलाई समेटेर मेगा सिटी निर्माण गर्ने बताएको छ । उसले न्युयोर्क, पेरिस वा लण्डन जस्तै विकासित मेगा सिटीका रुपमा उपत्यकालाई विकास गर्ने जनाएको हो । उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनसहितको नमुना शहर बनाउने एमाले घोषणा छ । त्यस बाहेक बनेपा, पनौती, धुलिखेल, कुलेखानी, दामन, बैरेनी, विदुर, बेत्रावति, रसुवा, मेलम्ची, इन्द्रावति, दोलालघाट, भकुण्डेबेसी लगायतका क्षेत्र समेटेर बृहत्तर राजधानी निर्माणको काम अघि बढाउने पनि एमाले घोषणा पत्रमा उल्लेख गरिएको छ ।

एमालेले तीन बर्षभित्रै उपत्यकाभित्रका सबै कलकारखान र इँटाभट्टाहरुलाई विस्थापित गर्ने, प्राकृतिक तालहरुको संरक्षण गरि २० वटा तालको निर्माण गर्ने, भित्रि, बाहिरी र बृहत गरि तीनवटा चक्रपथ निर्माण गर्ने पनि एमालेले बताएको छ ।
४) वृद्ध भत्ता पाँच हजार
एमालेले वृद्ध भत्ता बढाएर पाँच हजार पुर्याउने बताएको छ । त्यस्तै, सरकारी अस्पतालमा सुत्केरी हुने शिशु र र आमाको पोषण र स्वास्थ्यका लागि पाँच हजार प्रोत्साहन भत्ता दिने एमालेले उल्लेख गरेको छ ।

५) तीन बर्षमा एक घर एक रोजगार, १० बर्षमा बेरोजगारी उन्मुलन
एमालेले आफ्नो नेतृत्वमा सरकार बनेको तीन बर्षभित्रै एक घर एक रोजगारी दिने र आगामी १० बर्षभित्रै बेरोजगारी उन्मुलन गर्ने घोषणा पत्रमा लेखेको छ ।