नौं महिनामा १० अर्ब ५५ करोड विदेशी लगानी, ७८ प्रतिशत हिस्सा चिनको मात्रै

<p>काठमाडौं । चालु आर्थिक बर्षको पहिलो नौ महिनामा १० अर्ब ५५ करोड विदेशी लगानी प्रतिवद्धता आएको छ । यो प्रतिवद्धता गत आवको सोही अवधीको भन्दा २७ दशमलब ७० प्रतिशत अर्थात २ अर्ब २९ करोड बढि हो । अघिल्लो आवको नौ महिनामा जम्मा ८ अर्ब २६ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । सबै भन्दा रोचक [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो नौ महिनामा १० अर्ब ५५ करोड विदेशी लगानी प्रतिवद्धता आएको छ । यो प्रतिवद्धता गत आवको सोही अवधीको भन्दा २७ दशमलब ७० प्रतिशत अर्थात २ अर्ब २९ करोड बढि हो । अघिल्लो आवको नौ महिनामा जम्मा ८ अर्ब २६ करोडको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

सबै भन्दा रोचक पक्ष भनेको नेपालमा बढेको चिनियाँ लगानीको हिस्सा हो । नौ महिनामा नेपालमा आएको विदेशी लगानी प्रतिवद्धतामध्ये ७८ दशमलब ३० प्रतिशत हिस्सा चिनले ओगटेको छ । हङकङ, ताइवान र चीन(मेनल्याण्ड)बाट १२५ प्रोजेक्टका लागि ७ अर्ब ३८ करोड रुपैंयाँको लगानी प्रतिवद्धता आएको छ । ती कम्पनीले ३९५६ जनालाई रोजगारी दिने बताएका छन् ।

चीन(मेनल्याण्ड)बाट १२२ प्रोजेक्टका लागि ५ अर्ब २७ करोडको लगानी आएको छ । सो लगानीबाट ३७८८ जनाले रोजगारी पाउने उल्लेख छ । चिन अन्तर्गत नै रहेको हङकङबाट एउटा प्रोजेक्टका लागि २ अर्बको लगानी आएको छ । जसबाट १३३ जनाले रोजगारी पाउने बताइएको छ । त्यस्तै, चिनकै अभिन्न अंगका रुपमा रहेको ताइवानबाट २ वटा प्रोजेक्टका लागि ११ करोडको लगानी प्रतिवद्धता आएको छ ।

आव २०७२/७३ मा चिनियाँ लगानीकर्ताले ६८ प्रोजेक्टका लागि जम्मा १ अर्ब ३९ करोड बराबरको मात्रै लगानी गरेका थिए । जुन कुल लगानीको १६ दशमलब ८१ प्रतिशत मात्रै हुन आउँथ्यो । एक बर्षभित्रै नेपालमा चिनियाँ लगानी ४३० दशमलब ९२ प्रतिशतले बढेको देखिन्छ ।
गत फागुन १९ र २० गते आयोजना गरिएको लगानी सम्मेलनमा पनि चिनियाँ लगानी कर्ताले सबैलाई उछिन्दै आठ अर्ब ३० करोड अमेरिकी डलर (आठ खर्ब ८० अर्ब रुपैयाँ) भन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए ।

कुल १४ खर्ब ३३ अर्ब वैदेशिक लगानीको प्रतिवद्धता व्यक्त भएको सम्मेलनमा चिनियाँ लगानी कर्ताले मात्रै ६१ दशमलब ४० प्रतिशत लगानी प्रतिवद्धता व्यक्त गरेका थिए । नौ महिनामा ३१ देशका लगानी कर्ताबाट २४४ वटा प्रोजेक्टमा लगानीको प्रतिवद्धता आएको हो । ती प्रोजेक्टबाट ७ हजार १ सय ६४ जनाले रोजगारी पाउने उल्लेख छ ।

चिनपछि दक्षिण कोरियाली लगानी कर्ताले नेपाललाई लगानी गन्तव्यका रुपमा लिएको देखिन्छ । दक्षिण कोरियाका लगानी कर्ताले १० वटा प्रोजेक्टमा १ अर्ब ६२ करोड गरेर ३१७ जनालाई रोजगारी दिने बताएका छन् । उता, तीन तर्फ सिमा जोडिएको र रोटी र बेटीको सम्बन्ध भएको भारतबाट भने जम्मा ६२ करोडको मात्रै लगानी प्रतिवद्धता आएको छ । भारतले २७ परियोजनाका लागि प्रतिवद्धता व्यक्त गरेको सो लगानीबाट ८५६ जनाले रोजगारी पाउने उल्लेख गरेको छ । बेलायतबाट ७ परियोजनाका लागि १९ करोडको लगानी प्रतिवद्धता आएको छ । त्यस्तै, अमेरिकाबाट २० वटा प्रोजेक्टका लागि १९ करोडकै लगानी प्रतिवद्धता आएको देखिन्छ ।

गत फागुन १९ र २० गते आयोजना गरिएको सो प्रतिवद्धताको लागनीलाई भित्र्याउने उद्योग मन्त्रालयले बिभिन्न उप समितिहरु बनाएर धमाधम फलो गरिरहेको छ । ‘हामीले तीन वटा उप समिति बनाएर लगानी सम्मेलनमा व्यक्त भएको लगानी प्रतिवद्धतालाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छौं’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने ।

सरकारले विदेशी लगानी आकर्षित गर्न भन्दै ऐन कानुनको संसोधन तथा छुट सुबिधाहरु धमाधम बढाउँदै लगिरहेको छ ।

Share News