काठमाडौं । काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको डिपिआर स्विकृति भएको छ । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले बैशाख १३ गते नै बाहिरी चक्रपथको सतुंगल–चोभार खण्डको ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत गरेका हुन् । ‘बैशाख १३ गते मन्त्रिज्युले डिपिआर स्विकृत गरिदिनु भएको छ, राजत्रपमा सूचना प्रकाशनका लागि पत्र लेखिसकेका छौं, एक हप्ताभित्रै राजपत्रमा सूचना आउँछ’, बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुब सापकोटाले विकासन्युजसँग भने ।

पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । सो खण्डमा ८ हजार ९ सय ५६ रोपानी जमिन एकिकरण हुँदैछ । त्यसमा १३ हजार ७ सय ६४ कित्ता जमिन परेको छ ।
प्रत्येक एक किलोमिटर क्षेत्रका स्थानिय बासिन्दालाई समेटेर उपभोक्ता समिति गठन गर्ने तयारी पनि आयोजनाले अघि बढाएको छ ।‘प्रत्येक एक किलोमिटरमा एउटा उपभोक्ता समिति गठन गर्छौ, आगामी एक महिनाभित्रै डोजर चलाउन सुरु हुन्छ’, सापकोटाले भने ।

बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ । सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ ।
मुल सडकको दायाँ र बायाँ क्रमशः २५०÷२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । जमिन अधिग्रहण र एकिकरणको काम आयोजनाले गर्नेछ भने सडक निर्माणको काम सडक विभागले नै गर्नेछ । बाहिरी चक्रपथ सडक निर्माणमा चीन सरकार र जाइकाले इच्छा देखाएका छन् ।