काठमाडौं । फोरजीका उपभोक्ता साढे पाँच लाख पुगेका छन् । नेपाल टेलिकमले गत पुस १७ गतेदेखि ३६ करोडको लागतमा चौथो जेनेरेशनको फोरजी सेवा आरम्भ गरेको थियो । प्रत्येक महिना करिब एक लाख भन्दा बढि फोरजीका उपभोक्ता थपिँदै आएको देखिन्छ ।
सुरुमा काठमाडौं र पोखरामा पोष्टपेड मोबाइलमा मात्रै आरम्भ गरिएको सेवा अहिले प्रमुख शहरहरुमा विस्तारको तयारी भैरहेको छ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार हाल फोरजीका उपभोक्ता ५ लाख ४१ हजार ५०० पुगेका छन् । तीमध्ये ४ लाख ७१ हजार प्रिपेडका उपभोक्ता छन भने ७० हजार ६ सय पोष्टपेडका उपभोक्ता छन् ।
टेलिकमले काठमाडौंमा ३०८ र पोखरामा २५ वटा बिटिएस टावर मार्फत सेवा आरम्भ गरेको थियो । हाल काठमाडौंमा ७९ वटा टावर थप्ने काम अघि बढेको टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । टेलिकमले हुवावे टेक्नोलोजीको प्राबिधिक सहकार्यमा फोरजी सेवा आरम्भ गरेको हो ।
अब कहाँ कहाँ जाने ?
टेलिकमले देशका १५ वटा उप महानगरपालिका फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए । धरान, बिराटनगर, इटहरी, जनकपुर, बिरगञ्ज, हेटौँडा, बुटवल, नेपालगञ्ज, धनगढी, लगायत १५ वटै उपमहानगर पालिकामा फोरजी सेवा विस्तारका लागि टेण्डर आव्हानको तयारी भैरहेको अधिकारीले जानकारी दिए ।
उपमहानगरपालिकापछि अन्य ठुला शहरमा पनि फोरजी सेवा विस्तार हुनेछ ।