काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ४४ करोड खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिव ९२ प्रतिशतले बढी हो । गत वर्षको प्रथम ९ महिनामा बैंकको खुद नाफा ७५ करोड रुपैयाँ थियो ।
बैंकले सञ्चालन नाफा १ अर्ब १७ करोड गरेको छ भने राईट व्याकबाट १ अर्ब ४० करोड रुपैयाँ प्राप्त छ । कर र बोनसअघि बैंकको नाफा २ अर्ब ३० करोड रुपैयाँ छ । बैंकले स्टाफ बोनस २० करोड ९६ लाख र कर ६५ करोड छुट्टाएको छ । डिफरड ट्याक्समा ४४ करोड प्रोफिजन गरेकोले यस बैंकको ट्याक्स भार बढी देखिएको छ ।
बैंकले चैत मसान्तसम्ममा ७१ अर्ब निक्षेप परिचालन गरेको छ । यो रकम एक वर्षअघिको तुलनामा १७ अर्ब रुपैयाँ बढी हो । त्यस्तै बैंकले ५९ अर्ब रुपैयाँ कर्जा सापटी दिएको छ भने र करिव ६ अर्ब लगानी गरेको छ । एक वर्षमा बैंकको कर्जा विस्तार १५ अर्ब रुपैयाँले भएको छ ।
बैंकको क्यापिटल एडेक्वसी ११ प्रतिशत छ । खराव कर्जा ४.३२ प्रतिशतमा झरेको छ । गत वर्ष सोही अवधिमा बैंकको खराव कर्जा १० प्रतिशत थियो ।
बैंकको सीडी रेसियो ७१ प्रतिशत छ भने स्प्रेडदर ३.७३ प्रतिशत छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ छ भने संचित कोषमा १ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८० पैसा छ । बैंकको सेयर प्रतिकित्ता ४३० रुपैयाँमा कारोबार भईरहेको छ ।