काठमाडौं । राजधानीको भृकुटीमण्डमा नेपाली जुत्ताहरुको समर सेल मेला २०७४ सुरु भएको छ । मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य भिमलाल पौडेलले स्थानिय तहको निर्वाचनमा बलिया नेपाली जुत्ताको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरे । उनले नेपाली जुत्ताको प्रयोगद्धारा आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सघाउन पनि अपिल गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रबिन कुमार श्रेष्ठले पनि स्थानिय निर्वाचनमा नेपाली जुत्ता जस्तै बलिया र विश्वसनिय उम्मेदवार छान्न अनुरोध गरे । हास्य कलाकारद्धय जितु नेपाल, अर्जुन घिमिरे(पाँडे)ले नेपाली जुत्ता चप्पल अब्बल रहेको बताएका थिए ।
मेलामा ७० प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ । मेलामा १०० देखि ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ ।मेला आयोजक संस्था द सुज प्यालेसका अध्यक्ष रामहरि तोलाङ्गले समर सेलले नेपाली उपभोक्तालाई न्युनतम मुल्यमा गुणस्तयरय जुत्ता उपलब्ध गराउने बताए ।
मेलामा रोयल सुज, रन सुज, सम्राट सुज , स्र्माट सुज, पिजि फुटवेयर, सिटिजन फुटवेयर, कदम सुज तथा हाइलाइफ चप्पल जस्ता चर्चित नेपाली ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस एक्स्पोमा उपलब्ध छन् । यो मेलामा दुई लाखभन्दा बढी आगन्तुकहरुले अवलोकन गरी ५० हजार जोर भन्दा बढी जुत्ता चप्पलहरु बिक्रि हुने लक्ष्य रहेको छ ।