काठमाडौं । बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको फाइल शहरी विकास मन्त्री अर्जुनरसिंह केसीको टेबलमा पुगेको छ ।
उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीका अनुसार भोली नै मन्त्री केसीले हस्ताक्षर गरेर राजपत्रमा प्रकाशित गर्ने कार्यक्रम तय भएको छ ।

बाहिरी चक्रपथको सतुंगल–चोभार खण्डको ६ दशमलब ६१८ किलोमिटर खण्डलाई पाइलट प्रोजेक्टका रुपमा अघि बढाउन लागिएको हो । यसको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । सो खण्डमा ८ हजार ९ सय ५६ रोपानी जमिन एकिकरण हुँदैछ । त्यसमा १३ हजार ७ सय ६४ कित्ता जमिन परेको छ ।

‘मन्त्रिले जारी गर्ने प्रेस विज्ञप्ति पनि तयार भैसकेको छ, १३ बर्षदेखि रोकिएको आयोजना सरकारलाई सरकारले भोली नै स्विकृति दिँदैछ ।’, उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले विकासन्युजसँग भने । आयोजना अघि बढाउने निर्णय मन्त्रि परिषदबाट गर्ने तयारी भैरहेको भएपनि अन्तिम समयमा आएर मन्त्रिस्तरिय निर्णयबाटै अघि बढाउन लागिएको हो । मन्त्रि केसीले फाइलमा हस्ताक्षर गरे लगत्तै राजपत्रमा सूचना प्रकाशित गरेर जमिन रोक्का गरिनेछ । त्यसको केहि दिन भित्रै आयोजनाले जग्गा एकिकरणको काम अघि बढाउने छ ।

बाहिरी चक्रपथमा ५० मिटरको आधुनिक सडक हुनेछ । सो खण्डमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमीटर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । जमिन अधिग्रहण र एकिकरणको काम आयोजनाले गर्नेछ भने सडक निर्माणको काम सडक विभागले नै गर्नेछ । बाहिरी चक्रपथ सडक निर्माणमा चीन सरकार र जाइकाले इच्छा देखाएका छन् ।