‘नो हर्न’ उलङ्घन गर्ने १७ सयमाथि कारबाही, ८ लाख जरिवाना

<p>काठमाडौं। काठमाडौं उपत्यकामा  ‘हर्न निषेध’ नियम उलङ्घन गर्ने मध्ये बिहीबारसम्म १७ सय १७ जना चालक कारवाहीमा परेका छन् । नियम उलंघन गर्ने मध्ये अधिकांश मोटरसाइकल चालक रहेको ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बताए ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको विवरणअनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा हर्न बजाएबापत कारवाहीमा परेकाहरुसँगबाट कुल ८ लाख ५८ हजार [&hellip;]</p>

काठमाडौं। काठमाडौं उपत्यकामा  ‘हर्न निषेध’ नियम उलङ्घन गर्ने मध्ये बिहीबारसम्म १७ सय १७ जना चालक कारवाहीमा परेका छन् ।

नियम उलंघन गर्ने मध्ये अधिकांश मोटरसाइकल चालक रहेको ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले बताए ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको विवरणअनुसार बिहीबार साँझसम्म काठमाडौं उपत्यकामा हर्न बजाएबापत कारवाहीमा परेकाहरुसँगबाट कुल ८ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

काठमाडौं शहरलाई शान्त र सभ्य बनाउन लागू गरिएको ‘नो हर्न’ नियमको करिब ९५ प्रतिशत चालकले पालना गर्न थालिसकेको महानिरीक्षक लामाले बताए । लामाका अनुसार, कतिपय चालक कस्तो बेलामा हर्न बजाउने भन्ने चालै नपाएर पनि कारवाहीमा पर्ने गरेका छन् । ‘मोडमा अगाडिबाट आउने गाडी नदेखिने अवस्था तथा दुर्घटनामा पर्न सक्ने आकस्मिक अवस्थामा मात्र हर्न बजाउन पाइन्छ,’ उनले भने ।

मानिसको कानका लागि ६० डेसिबलसम्मको ध्वनिलाई उपयुक्त मानिन्छ । तर, काठमाडौं उपत्यकाको ध्वनि प्रदूषण ९५ डेसिबल छ । कुनै बेला यो ११० डेसिबलसम्म पुग्ने गरेको तथ्यांक ट्राफिक प्रहरीसँग छ । ‘११० डेसिवल ध्वनि मानिसको कानका लागि खतरापूर्ण हो,’लामाले भने ।

‘नो हर्न’ अभियान अत्यन्त सफल भएको काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत इश्वरराज पौडेलको दाबी छ । ‘यस्तो अभियानले जनता पनि बिस्तारै सचेत हुँदैछन्,’ उनले भने, ‘पहिले चालकहरु हर्नको भरमा सवारी चलाउने गर्थे, तर नो हर्न लागू भएपछि हर्न नबजाई सर्तक भएर हर्न बजाउन थालेका छन् ।’

यातायात व्यवस्था विभागको पहलमा काठमाण्डौ महानगरपालिका, ट्राफिक प्रहरी गत चैतमा बसेको बैठकले राजधानीको ध्वनि प्रदुषण कम गर्न हर्न निषेध गर्ने निर्णय गरेको थियो ।

Share News