कहिले साटिन्छन् ५०० र १००० दरका भारु ? राष्ट्र बैंक भन्छ-जवाफ कुरिरहेका छौं

<p>काठमाडौं । चैत दोश्रो साता रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)को टोलीले प्रतिव्यक्ति ४५ सयसम्म ५०० र १००० हजार दरका भारु साटिदिने प्रतिवद्धता गरेको थियो । तर नेपाल राष्ट्र बैंकले दुई देशबिचको सम्झौता अनुसार कानुनी मानिएको २५ हजारसम्म भारु साट्न पाउनु पर्ने अडान राख्यो । आरबिआईले ४५ सय भन्दा बढि भारु नसाट्ने अडान कसेपछि अन्ततः नेपालले त्यसैलाई [&hellip;]</p>

काठमाडौं । चैत दोश्रो साता रिजर्भ बैंक अफ इण्डिया(आरबिआई)को टोलीले प्रतिव्यक्ति ४५ सयसम्म ५०० र १००० हजार दरका भारु साटिदिने प्रतिवद्धता गरेको थियो । तर नेपाल राष्ट्र बैंकले दुई देशबिचको सम्झौता अनुसार कानुनी मानिएको २५ हजारसम्म भारु साट्न पाउनु पर्ने अडान राख्यो ।

आरबिआईले ४५ सय भन्दा बढि भारु नसाट्ने अडान कसेपछि अन्ततः नेपालले त्यसैलाई स्विकार गर्न बाध्य भएको छ । नेपाल राष्ट्र बैंकले अप्रिल १३ तारिखका दिन आरबिआईलाई पत्र लेखेर ५०० र १००० दरका ४५ सय रुपैंयाँ साट्ने निर्णय सहितको पत्र पठाएको थियो । तर आरबिआईले अझै त्यसको जवाफ दिएको छैन् ।‘हामीले अप्रिल १३ तारिखका दिन पत्र लेखेर ४५ सय साट्न तयार रहेको जानकारी गराएका छौं, आरबिआईले पत्र आइपुगेको जानकारी दिएको छ तर जवाफ पठाएको छैन, हामी जवाफ कुरिरहेका छौं’, नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका प्रमुख भिष्म ढुंगानाले विकासन्युजसँग भने ।

ढुंगानाका अनुसार तत्कालका लागि ४५ सय रुपैंयाँ साट्ने र त्यस लगत्तै थप २०५०० रुपैंयाँ साट्नका लागि दबाव दिने रणनीतिमा केन्द्रिय बैंक पुगेको हो ।‘तत्कालका लागि ४५ सय साट्ने र त्यस लगत्तै थप सटही सुबिधा लागि कुटनितिक लबिङ बढाउँदा उपयुक्त हुने निष्कर्षसहित अघि बढेका छौं’, ढुंगानाले भने ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ९ देखि एक हजार र पाँच सय दरका भारु कारोबार रोक लगाएको घोषणा गरेका थिए । कालोधन नियन्त्रण योजना अन्तर्गत मोदी सरकारले नोटबन्दीको घोषणा गरेको थियो । जसको असर नेपाल, भुटान लगायतका देशभा पनि परेको छ । नेपाल–भारत सम्झौता अनुसार दुबै देशका नागरिकले एक अर्काे देशको २५ हजार रुपैंयाँसम्म राख्न पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार नेपालले २५ हजार भारु सटही सुबिधा पाउनुपर्ने अडान राख्दै आएको छ ।

भारु सटहीबारे छलफल गर्ने नेपाली टोली एक पटक भारत गएको थियो भने भारतीय टोलीले २ पटक नेपाल आएर सघन छलफल गरिसकेको छ ।

Share News