काठमाडौं । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्बजनिक बिदा दिएको छ । भण्डारी सोमबार (भोली) भारत भ्रमणमा जाने भएकी छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सोमबार र शुक्रबार दुबैदिन बिदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारीको सोमबारदेखि हुन लागेको भारतको पाँच दिने राजकीय भ्रमणबाट दुई देशबीचको सदियौँदेखिको आपसी सम्बन्ध थप मजबुत बन्ने अपेक्षा गरिएको छ ।
नेपालमा नयाँ संविधान जारी भएपछि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न पुगेका भण्डारीको आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा छिमेकी मुलुक भारतको पहिलोचोटि भ्रमण हुन लागेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने भएकी छन् । यस्तै, राष्ट्रपतिले अन्य भारतीय उच्च अधिकारीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने छिन् ।
राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनेका साथै भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने कार्यक्रम छ । यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए । नेपाल गणतन्त्रात्मक मुलुक भएपछि पहिलो पटक छिमेकी राष्ट्र भारतबाट राष्ट्रपति मुखर्जीको नेपाल भ्रमण भएको हो । यसअघि भारतीय राष्ट्रपति केआर नारायननले विसं २०५५ जेठ १४ गते नेपाल भ्रमण गरेका थिए ।
राष्ट्रपति भण्डारी शुक्रबार स्वेदश फर्कने कार्यक्रम रहेको छ । सो दिन पनि सरकारले सार्वजनिक विदा हुनेछ ।