ठूला दातामा भारत र चीन परेनन्, यी हुन नेपाललाई धेरै सहयोग गर्ने १० दाता

<p>काठमाडौं । भनिन्छ छिमेकी भनेको मर्दाका मलामी र पर्दाका जन्ती हुन् । तर नेपालका दुई ठूला छिमेकी राष्ट्र भारत र चीन भने नेपाललाई सघाउने ठूला दाताहरुमा पर्दैनन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७२/७३ सालको वैदेशिक सहयोगीमा भारत र चीन दुबै नपरेका हुन् । गत आर्थिक बर्षमा नेपालको विकासमा साँझेदारीसहित सहयोग गर्ने ठुला ५ [&hellip;]</p>

काठमाडौं । भनिन्छ छिमेकी भनेको मर्दाका मलामी र पर्दाका जन्ती हुन् । तर नेपालका दुई ठूला छिमेकी राष्ट्र भारत र चीन भने नेपाललाई सघाउने ठूला दाताहरुमा पर्दैनन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७२/७३ सालको वैदेशिक सहयोगीमा भारत र चीन दुबै नपरेका हुन् ।

गत आर्थिक बर्षमा नेपालको विकासमा साँझेदारीसहित सहयोग गर्ने ठुला ५ दातृ निकायमा विश्व बैंक, एसियाली विकास बैंक, अमेरिकी सहयोग नियोग(युएसएड), संयुक्त राष्ट्र संघ समुह र बेलायत पर्छन् । गत आवमा विश्व बैंकले नेपालको विकासमा २४३ दशमलब ६९ मिलियन अमेरिकी डलर उपलब्ध गराएको थियो भने एसियाली विकास बैंकले ११८ दशमलब ९३ मिलियन अमेरिकी डलर सहयोग गरेको हो । त्यस्तै, संयुक्त राष्ट्र संघ समुहले ११३ दशमलब ५७ मिलियन अमेरिकी डलर र बेलायतले ८९ दशमलब ४ मिलियन अमेरिकी डलर सहयोग गरेका हुन् ।

नेपाललाई ४५ दशमलब ९१ मिलियन अमेरिकी डलर सहयोग गरेको जापान छैठौं नम्बरमा छ भने ३६ दशमलब ९८ मिलियन डलर सहयोग गरेर स्विजरल्याण्ड सातौं स्थान ओगटेको छ । भारत भने जम्मा ३५ दशमलब ७६ मिलियन डलर सहयोग गरेर आठौं स्थानमा खुम्चिएको छ । नौं नम्बरमा रहेको नर्वेले ३५ दशमलब ५३ मिलियन डलर सहयोग गरेको छ भने दशौं नम्बरमा परेको चीनले जम्मा ३५ दशमलब ३६ मिलियन अमेरिकी डलर मात्रै सहयोग गरेको छ ।

फरक फरक प्राथमिकता ?
विश्व बैंक र एसियाली विकास बैंकले क्रमशः ६५ दशमलब ७६ र ४२ दशमलब ३४ मिलियन अमेरिकी डलर सहयोग उर्जामा गरेका छन् । उता, अमेरिकाले भने स्वास्थ्य क्षेत्रमा बढि सहयोग गरेको छ । गत आवमा अमेरिकाले ४२ दशमलब ३२ मिलियन अमेरिकी डलर सहयोग स्वास्थ्य क्षेत्रमा लगाएको देखिन्छ । संयुक्त राष्ट्र संघ समुहले भने ३५ दशमलब १७ मिलियन डलर शान्ति तथा पुर्ननिर्माणमा लगाएको छ ।
बेलायतले भने सहयोगको ठुलो हिस्सा वातावरण, विज्ञान तथा प्रबिधीमा केन्द्रित गरेको छ । बेलायतले ३३ दशमलब ३० मिलियन अमेरिकी डलर वातावरण, विज्ञान तथा प्रबिधीमा लगाएको हो ।

कति आयो बजट प्रणालीमा ?
अर्थ मन्त्रालयका अनुसार गत आवमा वैदेशिक सहयोग ५ दशमलब २२ प्रतिशत बढेको थियो । गत आवमा नेपालले एक अर्ब ७० करोड ४० लाख अमेरिकी डलर बैदेशिक सहयता पाएको थियो । सोमध्ये ५० प्रतिशत अनुदान थियो भने ३५ प्रतिशत ऋण र १५ प्रतिशत प्राबिधिक सहयोग थियो । सो रकममध्ये ६३ प्रतिशत मात्रै बजेट प्रणालीबाट आएको थियो । आर्थिक बर्ष २०७१/७२ सालमा कुल सहयोगको ६५ प्रतिशत बजेट प्रणालीबाट आएको थियो ।

Share News