काठमाडौं । नेकपा एमालेभित्र लामो समयदेखि दबिएर रहेको असन्तुष्टि औपचारिक बैठकमै प्रकट हुन थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली, पार्टी सञ्चालनको शैली, निर्णय प्रक्रियाको केन्द्रीकरण र पछिल्लो निर्वाचन परिणामलाई लिएर सचिवालय तहमा खुलेर प्रश्न उठ्न थालेपछि एमालेको आन्तरिक राजनीति नयाँ चरणमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न सचिवालय बैठकपछि बाहिर सार्वजनिक रूपमा ओलीविरुद्ध स्पष्ट मोर्चाबन्दी देखिएको छैन । तर, बैठकभित्र उठेका प्रश्न, नेताहरूको अभिव्यक्ति र आगामी प्रक्रियाबारे भएका छलफलले एमालेभित्र शक्ति सन्तुलन फेरिन सक्ने संकेत देखिएको छ ।
एमालेभित्र पछिल्ला केही महिनायता संगठनात्मक निष्क्रियता, जनसंगठनहरूको कमजोर उपस्थिति, युवापुस्तासँग दूरी र नेतृत्वको अत्यधिक केन्द्रीकरणबारे असन्तुष्टि बढ्दै गएको थियो । तर, ती विषयहरू पहिलोपटक सचिवालय बैठकमै औपचारिक रूपमा उठेपछि त्यसलाई सामान्य असहमति मात्रै नभई संरचनागत बहसको सुरुआतका रूपमा हेरिएको छ ।
वाम विश्लेषक लोककृष्ण भट्टराईले लामो समयसम्म आक्रामक र नियन्त्रणकारी शैलीमा प्रस्तुत हुँदै आएका अध्यक्ष ओली अहिले पहिलो पटक पार्टीभित्र रक्षात्मक देखिन थालेको बताए ।
उनका अनुसार पहिले ओली असन्तुष्ट स्वरलाई प्रत्यक्ष चुनौती दिन्थे, अहिले भने उनी सुन्ने र आलोचनालाई तत्काल प्रतिवाद नगर्ने अवस्थामा पुगेका छन् । यो एमालेभित्रको बदलिँदो मनोविज्ञानको संकेत हो ।
निर्वाचन परिणामले बढायो दबाब
एमालेभित्र अहिले सबैभन्दा धेरै बहस भइरहेको विषय भनेकै निर्वाचन परिणाम हो । यही सन्दर्भमा एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव दिन कार्यदल गठन गरेको छ ।
यो कार्यदललाई एमालेभित्र अहिले अत्यन्त अर्थपूर्ण रूपमा हेरिएको छ । किनकि यसले केवल प्राविधिक समीक्षा मात्रै गर्ने कि पार्टी नेतृत्व, संगठनात्मक संरचना र निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाउने भन्ने विषय चासोको केन्द्र बनेको छ ।
पार्टीभित्रका केही नेताहरूको बुझाइमा यदि कार्यदलले कमजोर निर्वाचन परिणामको कारण संगठनात्मक जडता, नेतृत्वको अत्यधिक केन्द्रीकरण वा जनतासँगको दूरीलाई ठहर ग¥यो भने त्यसको राजनीतिक असर प्रत्यक्ष रूपमा अध्यक्ष ओलीमाथि पर्नेछ । एक सचिवालय सदस्यका अनुसार अहिले एमालेभित्रको बहस केवल निर्वाचन हार–जीतमा सीमित छैन, पार्टी कसरी चलिरहेको छ ? निर्णय कसरी हुन्छ ? दोस्रो पुस्ताले भूमिका पाउँछ कि पाउँदैन ? भन्ने प्रश्नमा केन्द्रित हुन थालेको छ ।
ओली किन रक्षात्मक देखिन थाले ?
एमाले नेताहरूका अनुसार पछिल्ला बैठकहरूमा अध्यक्ष ओलीको व्यवहार र अभिव्यक्तिमा पनि परिवर्तन देखिन थालेको छ । पहिले आलोचनाप्रति तत्काल प्रतिवाद गर्ने ओली अहिले तुलनात्मक रूपमा संयमित देखिएको नेताहरूको दाबी छ ।
राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार यो परिवर्तनलाई सामान्य रूपमा लिन मिल्दैन । उनले भने, ‘ओलीले पार्टीभित्रको असन्तुष्टि महसुस गरेका छन् । त्यसैले उनी अहिले प्रत्यक्ष टकरावभन्दा संवादमार्फत स्थिति नियन्त्रण गर्ने रणनीतिमा देखिन्छन् ।’
एमालेभित्र अहिले खुला विद्रोहको अवस्था नभए पनि नियन्त्रित असन्तुष्टि विस्तार हुँदै गएको उनी बताउँछन् । त्यो असन्तुष्टि अब संरचनागत बहसतर्फ उन्मुख हुन थालेको संकेत देखिएको उनको बुझाइ रहेको छ ।
असारको केन्द्रीय कमिटी बैठक समर्थन कि पुनर्संरचना ?
असार तेस्रो साताका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकलाई एमालेभित्र अहिले निर्णायक मोडका रूपमा हेरिएको छ । यो बैठकमा निर्वाचन समीक्षा कार्यदलको प्रतिवेदन पेश हुनेछ । साथै संगठन, जनसंगठन, नेतृत्व शैली र पार्टी सञ्चालनबारे व्यापक छलफल हुने तयारी पनि गरिएको छ ।
ओली निकट नेताहरू भने पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै औपचारिक बहस नरहेको दाबी गर्छन् । एमाले सचिव महेश बस्नेतका अनुसार एमाले अझै पनि अध्यक्ष ओलीकै नेतृत्वमा एकताबद्ध रहेको र बाहिर देखाइएजस्तो गम्भीर ध्रुवीकरणको अवस्था छैन ।
तर असन्तुष्ट नेताहरू भने यही बैठकबाट संगठनात्मक पुनर्संरचना, निर्णय प्रक्रियाको विकेन्द्रीकरण र दोस्रो तहका नेताहरूको भूमिकाबारे औपचारिक बहस सुरु हुने दाबी गर्छन् । उनीहरू जनसंगठनहरूको पुनः सक्रियता, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने वातावरण र पार्टीभित्र संस्थागत प्रणाली बलियो बनाउनुपर्ने विषय उठाउने तयारीमा छन् ।
यदि केन्द्रीय कमिटी बैठक केवल औपचारिक समर्थन र नेतृत्वको पुनः वैधता स्थापित गर्ने प्रक्रियामा सीमित भयो भने ओली अझै बलियो भएर निस्किन सक्छन् । तर बैठकमा व्यापक असन्तुष्टि औपचारिक रूपमा अभिव्यक्त भयो भने एमालेभित्र शक्ति समीकरण फेरिने प्रक्रिया सुरु हुन सक्छ ।
एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
एमाले अहिले औपचारिक रूपमा विभाजित अवस्थामा छैन । तर पार्टीभित्र विचार, नेतृत्व शैली र संगठन सञ्चालनबारे फरक धारणा स्पष्ट देखिन थालेका छन् ।
एक पक्ष अहिलेको राष्ट्रिय राजनीतिक परिस्थितिमा ओलीभन्दा बलियो विकल्प नभएको तर्क गर्दै उनको नेतृत्वमै पार्टीलाई थप सशक्त बनाउनुपर्ने पक्षमा छ । उनीहरूको बुझाइमा एमाले अझै पनि ओलीकै व्यक्तित्व र राजनीतिक आक्रामकतामा टिकेको छ । तर अर्को पक्ष भने पार्टीलाई दीर्घकालीन रूपमा पुनर्जीवित गर्न संस्थागत सुधार अपरिहार्य भएको निष्कर्षमा पुगेको देखिन्छ ।
उनीहरूका अनुसार एमाले अत्यधिक व्यक्ति केन्द्रित हुँदै गएको छ र यही कारण संगठनात्मक ऊर्जा कमजोर बन्न थालेको हो ।
अहिलेसम्म अध्यक्ष ओली नै एमालेका सबैभन्दा शक्तिशाली नेता हुन् । पार्टीको संगठनात्मक संरचना, कार्यकर्ता पंक्ति र निर्णायक तहमा उनको प्रभाव अझै बलियो छ । तर सचिवालय तहबाट पहिलो पटक खुलेर उठेको असन्तुष्टि सामान्य घटना भने होइन । यसले एमालेभित्र दबाबको नयाँ चरण सुरु भएको संकेत दिएको विश्लेषक भट्टराई बताउँछन् ।
‘अब धेरै कुरा असारको केन्द्रीय कमिटी बैठक र थापा नेतृत्वको कार्यदलले बुझाउने प्रतिवेदनमा निर्भर हुनेछ,’ उनले भने, ‘त्यो बैठक ओलीका लागि पुनः नेतृत्व वैधता स्थापित गर्ने रक्षा कवच बन्न पनि सक्छ ।’
तर, त्यही बैठक एमालेभित्र संस्थागत सुधार, पुस्तान्तरण र नेतृत्व शैलीमाथिको बहसलाई औपचारिक प्रवेश गराउने मोड बन्ने सम्भावना पनि उत्तिकै बलियो देखिएको छ । एमाले अहिले ठीक त्यही दोबाटोमा उभिएको छ ।