काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले भारतीय राजदूत मञ्जीवसिंह पुरीको कार्यकालमा नेपाल र भारतबीच सम्झौता भएका पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहित विभिन्न सहयोग सम्झौता/समझदारीको कार्यान्वयनले गति लिने विश्वास व्यक्त गरेका छन् ।
सोमबार नेपाल निवासमा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच नेपाल-भारत सम्बन्ध, पछिल्लो राजनीतिक अवस्थासहित विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री नेपालका प्रेस सहयोगी मोहन गौतमले जानकारी दिए ।
सो अवसरमा राजदूत पुरीले सन् १९९४ मा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका रुपमा पूर्वप्रधानमन्त्री नेपालले भारत भ्रमण गर्दा उनीसँग भएको भेटको स्मरण गर्दै नेपालमा लोकतन्त्रको विकास एवम् नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन उनले खेलेका भूमिकाको प्रशंसा गरे । राजदूत पुरीले सबैका भावना समेटेर स्थानीय तहको निर्वाचनसहित संविधान कार्यान्वयन गर्न नेकपा (एमाले) र नेपालका राजनीतिक दल सफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।
उनले नेपाल र भारतका बीच भएका सम्झौता एवम् सहमतिको कार्यान्वयन गराउँदै दुई देशको सम्बन्धलाई थप बलियो बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । रासस