
शंकर प्रसाद पाण्डे, बस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार
बस्तु तर्फको उपाध्यक्षको उम्मेदवार बन्नु भएको छ, के के छन एजेण्डा ?
मैले दुई कार्यकाल महासंघको केन्द्रिय कार्य समिति सदस्यको जिम्मेवारी पुरा गरिसकेको छु । दुबै कार्यकालमा बस्तुगत संघकै प्रतिनिधित्व गरेको हुँ । नेपाल पश्मिना उद्योग संघको अध्यक्ष भैसकेको छु । अहिले पनि शिल्क एसोसियसन अफ नेपालको अध्यक्षका रुपमा आफ्नो जिम्मेवारी बहन गरिरहेको छु । नेपालमा बस्तुगत तर्फका सदस्यहरुको समस्या के हो ? उनीहरुका लागि के के गर्ने भन्नेबारे मसँग लामो अनुभव छ । निर्यात प्रवद्र्धनका क्षेत्रमा पनि मैले लामो समयदेखि काम गर्दै आएको छु । महासंघको केन्द्रमा बसेर बस्तुगत संघहरुका लागि राम्रो भूमिका खेल्दै आएको छु । अहिले बैंक, फाइनान्स र इन्स्योरेन्स समितिको सभापतिका रुपमा महासंघमा काम गरिरहेको छु ।
मसँग बस्तुगत संघलाई अघि बढाउने स्पष्ट योजना छ । विगतमा मैले महासंघमा खेलेको भूमिका र आगामी दिनमा मैले निर्वाह गर्न सक्ने भूमिकाका लागि बस्तुगत तर्फका साथीहरुले यी एजेण्डाका आधारमा मलाई चुन्नु हुनेछ भन्ने अपेक्षा गरेको छु ।
जित्ने आधारचाँही केलाई देख्नु भएको छ ?
मेरो इतिहास नै मेरो जित्ने आधार हो । महासंघको केन्द्रमा पुगेपछि कसले के काम गर्यो भनेर हेर्नेहरुले मलाई मतदान गर्छन् । अर्थात अघिल्ला दुई कार्यकालमा मैले निर्वाह गरेको भूमिका नै मेरो जित्ने आधार हो । मैले बस्तुगत क्षेत्रको पहिचान, अस्थित्व र भूमिकाका लागि आफ्नो सम्पुर्ण शक्ति खर्च गरेको छु । त्यसकारण नै यतिबेला मलाई ६० भन्दा बढि बस्तुगत संघका साथीहरुले सघाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । इतिहासको मुल्यांकन गर्नेहरुले मलाई सघाउँछन् । म ६० मतका साथ विजयी हुनेमा निश्चिन्त छु ।
चुनाव जितेपछि के के गर्ने योजना बनाउनु भएको छ ?
मैले आफ्नो स्पष्ट योजना अघि सारेको छु । महासंघमा बस्तुगत संघको पहिचानलाई अझै उचाईमा पुर्याउने छु । हाम्रो एकतालाई अझै बजबुत बनाउने छु । सरकारसँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने छु । बस्तुगत सदस्यहरुसँगको आन्तरिक छलफल र समस्याहरुको समाधानको पहलकदमी लिनेछु । कुन बस्तुगत संघको के बिशेषता हो त्यसका आधारमा उनीहरुलाई के सहयोग गर्न सकिन्छ अनि त्यस्तो सहयोग दिने निकाय कुन हो ? त्यसको पहिचान गरेर कार्यक्रमहरु अघि बढाउनेछु ।
बस्तुगत संघहरु निर्यात जन्य उद्योगका प्रतिनिधी पनि हुन, तपाई ती सबैको नेता बन्दै हुनुहुन्छ, निर्यात बढाउने योजना चाँही के के छन् ?
महासंघमा बस्तुगत संघको उपाध्यक्ष भनेको बहुआयामिक क्षेत्रको प्रतिनिधी हो । आइटीदेखि, पश्मिना, देखि गलौँचा, फेल्ट, माछा, कपडा, बिस्कुट, चीनी, शिल्क, औषधी सबै उद्योगहरुको साँझा थलो हो यो । यो बिबिधताको उचित सदुपयोग गरेर मात्रै हामी आफ्नो पहिचान कायम गराउन सक्छौं । निर्यातजन्य सबै जसो उद्योेगहरु यसै अन्तर्गत पर्छन् । यो क्षेत्रको प्रवद्र्धनले मात्रै तिब्रगतिको आर्थिक विकास र समृद्धि सम्भव छ । हामीले निर्यात प्रवद्र्धनका लागि नगद अनुदानको दायरालाई थप फराकिलो पार्दै लैजानु आवश्यक छ । त्यसका अलवा उद्योगहरुको उत्पादन लगात घटाउने र नयाँ शिप तथा प्रबिधी भित्र्याउने तर्फ पनि ध्यान दिनुपर्छ । हाम्रा उत्पादनहरुको गुणस्तर अभिवृद्धिदेखि अन्तराष्ट्रिय बजारसम्म पहुँच विस्तारलाई पनि ध्यान दिनुपर्छ ।