काठमाडौं । काठमाडौंको स्वयम्भूमा शुक्रबार धेरैका आँखा एउटा दृश्यले तान्यो । आँखाभरि आँसु निकालेका मलामीहरू आश्चर्यमा परे । धुवाँ उडिरहेको घाटमा त्यो दृश्यले धेरैलाई नियालिरहन बाध्य पार्यो ।
राजनीतिक पदको औपचारिकता बिर्सेर देशका गृहमन्त्रीले प्रहरी अधिकृतको शव आफ्नै काँधमा बोके । धेरैले त्यसलाई आश्चर्य माने । तर, एउटा युवक र एउटा सामाजिक अभियन्ताका लागि त्यो विषय सामान्य बन्यो । र, आर्यघाटमा पुर्याइएका प्रहरी निरीक्षक स्व.अभय लामाको शव उनले उनले काँधमा राखे र बोके ।
एउटा युवा, जो आफू सकसमा हुँदा वा अरु सकसमा हुँदा सरकारले सहयोग र उद्वार गरिदियोस् भन्ने चाहन्थ्यो । तीन महिनाअघि, एउटा टेलिभिजन अन्तर्वार्तामा सुधन गुरुङले आफ्ना बाल्यकालका ती अपूरा आकांक्षा सुनाएका थिए ।
उनले भनेका थिए, ‘मलाई कसैले हात समाइदियोस्, मेरो दुःख बुझिदियोस् भन्ने लाग्छ । त्यो वाक्य व्यक्तिगत पीडाको प्रस्फुटन थिएन, उनको सामाजिक चेतना बुझाइ थियो । त्यही एउटा युवा अहिले देशको गृहमन्त्री बन्दा उनले आफूलाई गृहमन्त्री सम्झेनन् । दुःख र पीडामा परेका परिवारलाई ढाडस दिए । ‘म तपाईंहरुसँगै छु’ भन्ने सन्देश दिए ।
विगतमा कुनै पनि गहृमन्त्रीले एउटा सर्वसाधारण, राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीको मलामी बनेर आर्यघाटमा पुग्दा यसरी शब काँधमा बोकेको घटना छैन । तर, गृहमन्त्री सुधन गुरुङले त्यो हिम्मत, त्यो साहस र त्यो भावना बुझ्दै सहजै शव काँधमा राखेर अगाडि लागे ।
आज, उनी देशको आन्तरिक सुरक्षा र प्रशासन सम्हाल्ने जिम्मेवारीमा छन् । हजारौं प्रहरी र करोडौं नागरिकका लागि उनी अभिभावकजस्तै बनेका छन् । कहिल्यै अरुको सहाराको अपेक्षा गर्ने एउटा युवा अहिले आफैं सहारा बनेर उभिएको छ ।
त्यसैले पनि उनी अन्य मन्त्रीहरूभन्दा फरक देखिन्छन् । चर्चामा पनि छन् । बिग्रिएका सडकमा पुगेर निर्देशन दिने, पीडितको घरमै पुगेर ढाडस दिने, प्रहरी कार्यालयहरूमा पुगेर मनोबल बढाउने जस्त सक्रियताले उनको वाहवाही पनि भएको छ । त्यसमा उनको काम गर्ने हुटहुटी बुझिन्छ । भावना र चिन्तन देखिन्छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएपछि उनको परिवा र सिंगो ट्राफिक प्रहरी अहिले शोकमा छ । त्यो शोकमा रहेको परिवार र प्रहरीलाई ढाडस दिन गृहमन्त्री गुरुङ अगाडि बढे ।
विदेशमा रहेका परिवारका सदस्य कुर्दा ढिला भएपछि शुक्रबार उनको अन्त्येष्टि गरिएको हो । र, त्यही क्षणमा गृहमन्त्रीको उपस्थितिले परिवारलाई ढाडस मिल्यो ।
यो पहिलो पटक भने होइन, दुई साताअघि एक राजनीतिक दलका कार्यकर्ताबाट दुव्र्यवहारमा परेका वृद्धलाई भेट्न उनी आफैं घर पुगेका थिए । तत्कालै साथ दिएको भन्दै ती वृद्धले गृहमन्त्रीलाई धन्यवाद दिएका थिए ।
भूकम्पपछि सुरु भएको उनको सामाजिक यात्रा अहिले सिंहदरबारसम्म आइपुगेको छ । ‘हामी नेपाल’ अभियानमार्फत उनले देशभर सामाजिक चेतना फैलाउने प्रयास गरे । त्यही यात्राले उनलाई अब केवल नेता होइन, संवेदनशील हस्तीको रूपमा चिनाएको छ ।
गृहमन्त्री गुरुङको सचिवालयले सडक दुर्घटनामा निधन भएका प्रहरी निरीक्षक लामाप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताएको छ । गुरुङले शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दै दिवंगत निरीक्षकको राष्ट्रप्रति समर्पित सेवा र योगदानको सम्मान गर्दै काँधमा शव बोकेको बताएको छ ।