पशुपति र कालीमाटीबाट ८ जनाको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आश्रित सहयोगापेक्षी मानव उद्धार कार्य सुरु गरेको छ । उद्धारमा महानगर प्रहरी बल, नेपाल प्रहरी, मानव सेवा आश्रम र वडाका जनप्रतिनिधिसहित सरोकारवाला सहभागितामा हरेक दिन तीन सिफ्टमा उद्धार कार्य हुने कामपाले जनाएको छ ।

काठमाडौंलाई सडक आश्रित सहयोगापेक्षीमुक्त सहर बनाउन कामपाले नेपाल प्रहरी, मानव सेवा आश्रम र स्थानीयहरूको सहभागिताका सडकमा रहेका बिरामी, मानसिक तथा शारीरिक रूपमा अशक्त, बेवारिसे व्यक्तिहरूलाई उद्धार थालेको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।

‘हामीले सबैलाई सडकबाट उद्धार गरेका होइनौ, बेसहारा र अशक्तको उद्धार गर्छौं, शारीरिक अवस्था ठिक भएकालाई माग्ने पेसामा निषेध गर्छौं,’ प्रमुख डङ्गोलले भनिन् । 

पशुपति क्षेत्रबाट नुवाकोट घर भएका ६५ वर्षीय पुरुष, रामेछाप घर भएका ५० वर्षीय, ४८ वर्षीय र ४१ वर्षीय गरी तीन जना पुरुष र काभ्रे घर भएका ४८ वर्षीय एक जना र ५० वर्षीय एक जना व्यक्ति गरी ६ जनालाई उद्धार गरिएको हो ।

पशुपति क्षेत्रपछि सेवामा खटिएको टोली कालीमाटी पुगेको थियो । कालीमाटीबाट काभ्रे घर भएका ८६ वर्षीय एक जना पुरुष र काभ्रे घर भएका ५० वर्षीय एक जना पुरुषको उद्धार भयो । उनीहरू दुवैको अवस्था सामान्य छ । टेकु क्षेत्रबाट धादिङ घर बताउने करिब ६० वर्षीय एक जना ज्येष्ठ नागरिकको उद्धार भएको छ ।

उद्धार तथा पहिचान, उपचार तथा पुनःस्थापना कार्यलाई व्यवस्थित बनाउन कामपाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा उच्चस्तरीय समन्वय समिति गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी र मानव सेवा आश्रमका प्रतिनिधि सदस्य छन् । समितिको सदस्यसचिवमा सामाजिक विकास विभागका प्रमुख छन् । 

यसरी सहयोगापेक्षीहरूको उद्धार कार्यमा रहेको बेला मानवतामा आधारित काठमाडौं निर्माण कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘सडकमा माग्न बस्नुभएका सबैलाई सहयोग गर्नुपर्ने अवस्थाको हुनुहुन्न । कोहिले माग्ने कामलाई पेसा बनाउनुभएको छ । कोही दुर्व्यसनका कारण पारिवारिक बेमेलका कारण सडकमा आउनुभएको छ । उहाँहरूको अवस्थाका आधारमा व्यवस्थापन गर्ने योजनाअनुरूप उद्धार कार्य थालेका हौँ ।’ 

कामपाले काठमाडौंलाई सहयोगापेक्षी सडक मानवमुक्त सहर बनाउने अभियानलाई तीव्रता दिएको छ । 

Share News