काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गस माछा आयातमा तथा बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
कृषि र वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाली कृषि उत्पादनलाई प्राथमिकता दिन र खाद्य स्वच्छतामा विशेष ध्यान दिन यसअघि सातै प्रदेश तथा सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् ।
सोही अनुसार भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गास माछाको आयात तथा बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।
विभागले मोरङ, सुनसरी र झापा जिल्लाका माछापालक किसान तथा व्यवसायीहरूको गुनासोका आधारमा भारतबाट अवैध रूपमा पङ्गास लगायत अन्य माछा नेपाल भित्रिने क्रम बढेको जनाएको छ ।
सुनसरीको अमडुवा फार्म, सिक्ती बोर्डर, मोरङका दुमरिया, धनपालथान, मिल्स एरिया, हुलास मेटल क्षेत्र तथा झापाका बलुवागढी र काँकडभिट्टा नाकाबाट माछा भित्र्याइएको पाइएको छ । ती माछा विराटनगर, इटहरी, इनरुवा, धरान लगायतका बजारमा खुलेआम बिक्री भइरहेको गुनासो प्राप्त भएको विभागले जनाएको छ ।
पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा तथा विराटनगरलाई स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरोकारवाला निकायसँग समन्वय गरी यथार्थ अवस्था अध्ययन र स्थलगत अनुगमन गर्न निर्देशन दिइएको छ । सोको ३ दिनमा प्रतिवेदन मागसमेत गरिएको छ ।