काठमाडौं । टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट र नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसियन (नाइमा) को सहकार्यमा आयोजित एकदिने ‘हाइब्रिड मेकानिजम तालिम’ सम्पन्न भएको छ । तालिम सैद्धान्तिक ज्ञानमा मात्र सीमित नभई प्रविधि र प्रयोगात्मक अभ्यासले गाडीको मेकानिजम बुझ्न निकै सहज बनाएको सहभागीहरू बताउँछन् । नेपालमा ईभीको चर्चा चुलिइरहेका बेला हाइब्रिड प्रविधिको सान्दर्भिकता अझ बढेको प्रशिक्षक प्रवेश पौडेल बताउँछन् ।

उनका अनसार नेपालजस्तो तराई, पहाड र हिमाल भएको देशमा जहाँ अझै चार्जिङ पूर्वाधारको कमी छ, त्यहाँ इन्धन र बिजुली दुवैबाट चल्ने हाइब्रिड गाडीहरू निकै प्रभावकारी हुन्छन् ।
कार्यक्रममा बोल्दै नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले तालिमले सहभागीहरूलाई आधुनिक सवारी प्रविधि बुझ्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामीले भर्खरै इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पस र सिटिइभिटीसँग पनि सहकार्य अगाडि बढाएका छौं । हाइब्रिड ब्याट्री सिस्टम वा अन्य प्राविधिक विषयमा विशेषज्ञता हासिल गर्न चाहनेहरूलाई नाइमाले सधैं सहयोग गर्नेछ ।’
यसैगरी, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका अटोमोबाइल विभागका प्रशिक्षक कुमार बहादुर मिजारले विद्यार्थीहरूका लागि सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नभएको र बजारको माग अनुसार प्रयोगात्मक अभ्यासमा जोड दिनुपर्ने बताए ।
मिजारका अनुसार हालको पाठ्यक्रममा हाइब्रिड र आधुनिक सवारी प्रविधि समावेश भए तापनि पर्याप्त उपकरण र व्यवस्थित ल्याबको अभावमा विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञानमा मात्र चित्त बुझाउनु परेको छ ।
‘हाम्रा विद्यार्थीहरूले अहिलेसम्म केवल किताबमा पढेर मात्र सिकिरहेका थिए,’ उनले भने, ‘अहिले आएर थोरै भए पनि प्रयोगात्मक र ल्याबको कुरा आउनु सकारात्मक छ ।’
कलेजसँग भएको सीमित स्रोत र साधनका कारण अत्याधुनिक प्रविधिसँग विद्यार्थीलाई साक्षात्कार गराउन चुनौतीपूर्ण रहेको उनले स्वीकार गरे ।
विद्युतीय सवारी साधनलाई सरकारले प्राथमिकता दिए पनि नेपालको भौगोलिक अवस्था र पूर्वाधारका कारण हाइब्रिड गाडीको भविष्य उज्ज्वल रहेको मिजारको तर्क छ । नेपालका सडक र भौगोलिक बनावट अनिश्चित रहेको अवस्थामा हाइब्रिड प्रविधि भरपर्दो विकल्प हुन सक्ने उनले बताए ।
उनले भने, ‘दुर्गम क्षेत्रमा जाँदा चार्जिङ स्टेसनको अभाव हुन सक्छ, यस्तोमा इन्धन र बिजुली दुवैबाट चल्ने हाइब्रिड गाडीले यात्रा सहज बनाउँछ। यो प्रविधि सुरुमा केही खर्चिलो देखिए पनि नेपाली बजारका लागि यो विलासी र व्यावहारिक दुवै छ ।’

पाठ्यक्रममा हाइब्रिड प्रविधि समावेश भए पनि पर्याप्त ल्याब र उपकरणको अभावमा विद्यार्थीहरूले केवल सैद्धान्तिक ज्ञान मात्र पाइरहेको अवस्थामा यो तालिम निकै फलदायी भएको उनले बताए । बालाजु स्कुल अफ इन्जिनियरिङका विद्यार्थीहरू र प्रशिक्षिका सम्झना ज्याख्वका अनुसार ईभीमा मात्र मानिसको रुचि भइरहेका बेला हाइब्रिडको वर्किङ प्रिन्सिपल बुझ्न पाउनु विद्यार्थीहरूका लागि नयाँ अनुभव हो ।
प्रशिक्षिका ज्याख्वले हाइब्रिड गाडीबारे रहेका भ्रमहरू चिर्न यो सेसन सफल भएको बताइन् । उनले आगामी दिनमा विद्यार्थीहरूका लागि थप प्रयोगात्मक र इन्टर्नसिपका अवसरहरू हुनुपर्नेमा जोड दिइन् ।
ज्याख्वले अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ प्रविधिबारे विद्यार्थीहरूमा निकै उत्साह देखिए पनि प्रयोगात्मक अभ्यासको कमी रहेको बताइन् । उनले पाठ्यक्रममा नभएका तर बजारमा चल्तीमा रहेका प्रविधिबारे विद्यार्थीहरूलाई थप जानकारी आवश्यक रहेको उल्लेख गरिन् ।
ज्याख्वका अनुसार धेरैमा हाइब्रिड सवारी साधन भनेको पूर्ण इलेक्ट्रिक मात्र हो वा स्विच गर्न मिल्ने प्रविधि मात्र हो भन्ने भ्रम रहेको थियो ।
‘विद्यार्थीहरूको पाठ्यक्रममा नभए पनि यो सेसनले हाइब्रिड र प्लग-इन हाइब्रिडको कार्यप्रणाली बुझ्न ठूलो मद्दत पुर्याएको छ,’ उनले भनिन् ,‘हाल बजारमा इलेक्ट्रिक भेहिकल (ईभी) को लहर चलेकाले विद्यार्थीहरू पनि ईभी र प्लग(इन प्रविधि सिक्न बढी इच्छुक देखिएका छन् ।’

नेपालको इन्जिनियरिङ शिक्षा अझै पनि बढी सैद्धान्तिक रहेकोमा चिन्ता व्यक्त गर्दै ज्याख्वले नाइमा जस्ता संस्थाहरूले प्रयोगात्मक तालिममा लगानी गर्नुपर्ने सुझाव दिइन् ।
उनले भनिन्,’हामीले ट्रेनिङमा थ्यौरी बढी पायौँ । विद्यार्थीहरूलाई सवारी साधनमै लगेर प्रत्यक्ष अभ्यास गराउनु अझ प्रभावकारी हुन्छ। थोरै-थोरै समूह बनाएर भए पनि प्रत्येक विद्यार्थीले आफैँले काम गरेर सिक्ने र इन्टर्नसिपको अवसर पाउने वातावरण बनाउनुपर्छ ।’
यस्तै, तालिममा सहभागी विद्यार्थीहरू हिमचन्द्र लिम्बु र रमेश यादवले हाइब्रिड र ईभी प्रविधिको भिन्नता, सुरक्षा सावधानी र कार्यप्रणालीबारे महत्वपूर्ण कुराहरू सिकेको बताए ।
उनीहरूका अनुसार नेपालको भौगोलिक अवस्था र चार्जिङ पूर्वाधारको सीमितताका बीच ग्रामीण क्षेत्रका लागि हाइब्रिड र सहरी क्षेत्रका लागि ईभी दुवैको सम्भावना उत्तिकै बलियो छ ।

सडकमा चौबीसै घण्टा खटिने ट्राफिक प्रहरीहरूका लागि नयाँ प्रविधिका गाडीहरू कहिलेकाहीँ चुनौती बनिदिन्छन् । सडकमा गाडी बिग्रिँदा वा दुर्घटना हुँदा कसरी व्यवस्थापन गर्ने भन्ने ज्ञानको अभावमा उनीहरूले समस्या भोग्नुपथ्र्यो । तर, यो तालिमपछि उनीहरूको आत्मविश्वास बढेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका हवल्दार सुदर्शन अर्याल र सहायक निरीक्षक कुमार बलले नयाँ प्रविधिका गाडीहरू सडकमा बिग्रिँदा वा दुर्घटना हुँदा कसरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने भन्ने ज्ञानको अभाव रहेकोमा अब आत्मविश्वास बढेको बताए ।

‘हामीलाई बर्दीमा देखेपछि सर्वसाधारणले सबै कुरा जान्दछ भन्ने सोच्छन् । यस्ता तालिमले हामीलाई आधुनिक गाडीहरू सुरक्षित स्थानसम्म पुर्याउन र ट्राफिक जाम खुलाउन प्राविधिक रूपमा सक्षम बनाएको छ,’ अर्यालले भने ।
नाइमाले आगामी दिनमा पनि यस्ता सीपमूलक र प्रविधिमा आधारित तालिमहरूलाई निरन्तरता दिने र सरकारी तथा निजी क्षेत्रसँग समन्वय गरी अटोमोबाइल क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
