काठमाडौं । पाँच बर्षमा मेकअप गर्ने नेपालीहरुको संख्या ८९ दशमलब २६ प्रतिशतले वृद्धि भएको छ । पाँच बर्ष अघि नेपालीहरुले ४ अर्ब १० करोड रुपैंयाँका विदेशी मेकअपका समान प्रयोग गरेका थिए । तर पाँच बर्षपछि मेकअप गर्नेहरुको संख्या ८९ दशमलब २६ प्रतिशतले बढेर ७ अर्ब ७६ करोड पुगेको छ । यसले मेकअप गर्ने नेपालीहरुको संख्या वृद्धि भैरहेको र मेकअपका समानहरुको माग पनि बढिरहेको स्पष्टसँग देखाउँछ ।
गत आर्थिक बर्ष २०७२/७३ मा परफ्युम, लिपिष्टिक, आँखाको मेकअप समान, मेनिक्युर, पेडिक्युर, पाउडर, क्रिम, स्याम्पु, हेयर जेल, टुथपेष्ट लगायतका २१ विदेशी मेकअप समान नेपाल भित्रिएका छन् । २ अर्ब ५३ करोडका अनुहारमा लगाउने क्रिम आयात भएको छ ।
३८ देशबाट एक अर्ब २२ करोड मूल्यको कपालमा प्रयोग हुने क्रिममा मात्रै आयात भएको छ ।
८४ करोड मूल्यको स्याम्पु आयात भएको छ भने ३२ करोडको कपालमा प्रयोग हुने जेल आयात भएको छ । १७ करोडको विभिन्न प्रकारका पाउडर आयात गरिएको छ । आँखाको सजाजटका लागि उपयोग हुने सामाग्रीको आयातका लागि ६ करोड रुपैंयाँ विदेशिएको छ ।
१४ करोड रुपैंयाँ मूल्य बराबरका लिपिष्टिक आयात गरिएको तथ्यांक छ । ९ करोडको परफ्युम तथा ट्वाइटेटमा प्रयोग हुने पानी आयात गरिएको छ ।
आर्थिक बर्ष २०७१/७२ मा ७ अर्ब २५ करोड मूल्य बराबरका मेकअपका समान आयात भएका थिए तर गत आवमा त्यो ५१ करोडले बढेर ७ अर्ब ७६ करोड पुगेको हो । यसले नेपालमा मेकअप गर्नेहरुको संख्या बढेको स्पष्ट रुपमा देखाउँछ ।