काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग भोलि बुधबार विशेष अन्तरक्रिया गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मध्याह्न १२ बजेका लागि तय गरिएको उक्त कार्यक्रममा विभिन्न क्लस्टर (वर्गरक्षेत्र) बाट प्रतिनिधित्व गर्ने माननीय सांसदहरू सहभागी हुनेछन् ।
अन्तरक्रियामा सांसदहरूले आ-आफ्नो क्लस्टरका विशिष्ट समस्या, विद्यमान चुनौती र समाधानका लागि चाल्नुपर्ने कदमहरूबारे प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा धारणा राख्नेछन् ।
यसको मुख्य उद्धेश्य जनप्रतिनिधि र कार्यपालिकाबीचको दूरी कम गरी सिधा संवाद स्थापित गर्ने, सांसदहरूका सुझावका आधारमा नीति निर्माण र कार्यान्वयन प्रक्रियालाई थप वस्तुपरक बनाउने तथा शासन प्रणालीलाई जनमुखी, उत्तरदायी र पारदर्शी बनाउन मद्दत पुर्याउने रहेको बताइएको छ ।
प्रधानमन्त्रीको यो कदमलाई सुशासन र संसदीय उत्तरदायित्व सुदृढ गर्ने एक महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।