शिक्षामन्त्री पोखरेल भन्छन्- 'भ्रष्टाचार निवारणको अचुक अस्त्र पारदर्शिता हो, बुवाआमाको सम्पत्तिमा विलासिता गरिनँ'

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री  सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै सुशासन र पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र परिवारको विस्तृत सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले भ्रष्टाचार निवारणका लागि सबैभन्दा शक्तिशाली अस्त्र पारदर्शिता नै हो भन्ने मान्यताका साथ आफूले यस्तो कदम चालेको स्पष्ट पारेका हुन्।

त्रिभुवन विश्वविद्यालयमा सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयको विद्यार्थी समेत रहेका मन्त्री पोखरेलले प्राविधिक रूपमा व्यक्तिगत विवरण मात्रै पर्याप्त हुने भए तापनि पूर्ण पारदर्शिताका लागि बुवा, आमा र मावली पक्षसम्मको सम्पत्ति खुलाएको जानकारी दिए ।

आफ्नो परिवारको सम्पत्ति इमान्दार मेहनतको कमाइ भएको उल्लेख गर्दै मन्त्री पोखरेलले बुवाको व्यावसायिक निष्ठाको समेत चर्चा गरे । उनका बुवा नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी कार्यकारी निर्देशक पदबाट अवकाश प्राप्त हुनुका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष वासिङ्टन डीसीमा कार्यकारी निर्देशकको सल्लाहकारका रूपमा समेत कार्यरत रहेका थिए ।

घरजग्गाको सन्दर्भमा उनले खरिद मूल्य वा सरकारी मूल्याङ्कनलाई आधार नमानी हालको चलनचल्तीको बजार मूल्य नै उल्लेख गरे । काठमाडौंको जग्गा खरिद गर्दाको समयभन्दा अहिले मूल्य ५० गुणाभन्दा बढीले वृद्धि भएको र त्यो बजार प्रवृत्तिकै परिणाम रहेको उनको तर्क छ ।

आफू एक हिसाबले प्रिभिलेज्ड अर्थात् सुविधासम्पन्न पृष्ठभूमिबाट आएको स्वीकार गर्दै मन्त्री पोखरेलले भने, 'आजसम्म आधारभूत शिक्षाबाहेक मैले कहिल्यै पनि बुवा-आमाको सम्पत्तिमा निर्भर भएर विलासिता गरेको छैन । स्नातक दोस्रो वर्षदेखि नै पार्ट-टाइम अनलाइन काम गरेर आफ्ना खर्चहरू आफैं व्यवस्थापन गर्दै आएको छु ।'

उनले आफ्नो विवरणमा देखिएको ऋण समेत बुवा-आमाको सहयोगविना आफ्नै आम्दानीबाट गाडी खरिद गर्नका लागि लिएको स्पष्ट पारे ।

विवरणमा प्यान नम्बर समावेश नगर्नुको कारण खुलाउँदै उनले लेखेका छन्, 'मसँग वैध प्यान नम्बर छ, तर विवरण सार्वजनिक रूपमा प्रकाशित हुने भएकाले व्यक्तिगत सुरक्षाका कारण मात्र यसलाई गोप्य राखिएको हो ।'

पारदर्शितालाई शब्दमा मात्र नभई व्यवहारमा उतार्न आफू प्रतिबद्ध रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने संकल्प मन्त्री पोखरेलले व्यक्त गरेका छन् ।

Share News