आयल निगम भन्छ: अझै ८ अर्ब घाटामा छौं

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमको वित्तीय अवस्था चुनौतीपूर्ण बनेको छ ।

निगमले जारी गरेको पछिल्लो विवरण अनुसार इन्डियन आयल कर्पोरेसनबाट मार्च ३१, २०२६ (चैत १७ गते) मा प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमै करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ ।

निगमका अनुसार मूल्य समायोजन गर्दा समेत अधिकांश पेट्रोलियम पदार्थमा लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम छ। जसका कारण निगमले भारी नोक्सानी व्यहोरिरहेको छ । 

सबैभन्दा बढी घाटा डिजेलमा रहेको छ । प्रतिलिटर २९४.९९ रुपैयाँ लागत परेको डिजेललाई निगमले २०७ रुपैयाँमा बिक्री गरिरहेको छ, जसबाट प्रतिलिटर ८७.९९ रुपैयाँ घाटा भइरहेको छ ।

खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३३१.२५ रुपैयाँ घाटा छ । प्रतिसिलिन्डर लागत २ हजार ३४१.२५ रुपैयाँ पुग्दा बिक्री मूल्य २,०१० रुपैयाँ मात्र तोकिएको छ ।

पेट्रोलमा प्रतिलिटर २.३२ रुपैयाँ र मट्टितेलमा ३६.७० रुपैयाँ घाटा कायम छ ।आन्तरिकतर्फको हवाई इन्धनमा पनि सामान्य घाटा छ भने बाह्यतर्फ मात्र निगम केही नाफामा देखिएको छ ।

पछिल्ला दिनमा सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यलाई लिएर फैलिएका नकारात्मक र भ्रामक सूचनाप्रति निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले वास्तविक लागत र वित्तीय अवस्थालाई बुझिदिन आम उपभोक्तालाई आग्रह गरेको छ ।

जटिल परिस्थिति र ठूलो घाटाका बाबजुद पनि निगमले हालको आपूर्ति व्यवस्थालाई सहज बनाइरहेको दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने क्रम सुरु भएमा सोही अनुसार मूल्य समायोजन गरी उपभोक्तालाई राहत दिइनेछ । ’

हालको अन्तर्राष्ट्रिय बजारको अस्थिरता र त्यसले सिर्जना गरेको आर्थिक भारलाई मनन गर्दै यथार्थ वस्तुस्थितिको मूल्याङ्कन गरिदिन निगमले सरोकारवाला र उपभोक्तालाई अनुरोध गरेको छ ।
 

Share News