काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धिका लागि नयाँ वर्ष २०८३ को अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्री सार्वजनिक गरेको छ ।
उक्त कथा संग्रह बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली ले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरता केवल सूचना दिने प्रक्रिया मात्र नभई व्यवहार परिवर्तन गराउने माध्यम भएको उल्लेख गर्दै कथा तथा भिडियो सामग्रीले त्यसलाई अझ प्रभावकारी रूपमा जनमानससम्म पुर्याउने विश्वास व्यक्त गरेको छ ।
बैंकका अनुसार कथा संग्रहमा दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित वित्तीय निर्णय, बचतको महत्त्व, जिम्मेवार खर्च, बैंकिङ सेवा प्रयोग तथा आर्थिक योजना जस्ता विषयलाई सरल, रोचक र सन्देशमूलक कथामार्फत समेटिएको छ ।
यो कथा संग्रह देशभरका विभिन्न विद्यालयमा वितरण गरिने बैंकले जनाएको छ। यसबाट विद्यार्थीहरूमा प्रारम्भिक उमेरदेखि नै वित्तीय अनुशासन, बचत गर्ने बानी तथा जिम्मेवार खर्च गर्ने व्यवहार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, बैंकले आफ्ना नयाँ ग्राहकलाई खाता खोल्दा प्रोत्साहनस्वरूप खुत्रुकेसँगै उक्त कथा संग्रह समेत उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । यसले बचत व्यवस्थापनलाई व्यवहारिक रूपमा प्रवर्द्धन गर्ने विश्वास बैंकको छ ।
अभियानअन्तर्गत कथा संग्रहलाई भिडियो उत्पादनमार्फत डिजिटल रूपान्तरण समेत गरिएको छ । भिडियो सामग्रीमा कथाका पात्रलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्दै वित्तीय सन्देशलाई अझ प्रभावकारी ढंगले समेटिएको बैंकले जनाएको छ । बैंकका अनुसार यी भिडियो विशेषगरी बालबालिका, युवा तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको हो, जसले वित्तीय साक्षरतालाई मनोरञ्जनात्मक र सहज माध्यमबाट बुझ्न मद्दत गर्नेछ ।
कथा संग्रहसँग सम्बन्धित भिडियो सामग्री प्रत्येक हप्तामा दुई दिन बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । बैंकले वित्तीय साक्षरता अभिवृद्धि आजको आवश्यकता भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।
बैंकले यस अभियानमार्फत समुदायस्तरमा वित्तीय पहुँच विस्तार गर्दै जिम्मेवार बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ ।