अर्थमन्त्री र गभर्नरमध्ये को बढी धनाड्य ?

काठमाडौं । अर्थशास्त्र र नीति निर्माणको एउटै बौद्धिक वृत्तबाट उदाएका डा. स्वर्णिम वाग्ले र डा. विश्वनाथ पौडेल देशका दुई प्रमुख आर्थिक शक्तिकेन्द्र- अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नेतृत्वमा छन् । विगतमा नीतिगत बहस, अनुसन्धान र अन्तर्राष्ट्रिय संस्थासँगको अनुभव साटेका यी दुई व्यक्ति अहिले देशको अर्थतन्त्र सम्हाल्दैछन् । विगतमा एउटै पृष्ठभूमिबाट उदाएका अर्थमन्त्री डा. वाग्ले र गभर्नर डा. पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन् । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सम्पत्ति विवरणअनुसार वाग्लेसँग ललितपुरको सानेपामा २ करोड रुपैयाँ बराबरको १ हजार २८४ वर्गफिटको अपार्टमेन्ट, भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रफलमा बनेको ५ करोड रुपैयाँ बराबरको घर, काभ्रेको धुलिखेलमा ९ आनामा बनेको ३ करोड ७५ लाख रुपैयाँ बराबरको अपार्टमेन्ट तथा तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलमा बनेको ३ करोड रुपैयाँ बराबरको घर रहेको छ।  यी सम्पत्तिहरू अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीमार्फत आर्जन गरिएको उल्लेख छ ।

उनका परिवारका सदस्य जीवनराज वाग्लेको नाममा काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ मा ३ रोपनी जग्गा (२० लाख रुपैयाँ), गोरखाको शहिद लखन नगरपालिका–८ मा ३ रोपनी जग्गा तथा चितवनको रत्ननगरमा ५ कठ्ठा (८० लाख रुपैयाँ बराबर) जग्गा रहेको छ ।

यस्तै, वाग्लेको नाममा गोरखा नगरपालिकामा ५ रोपनी (५ लाख रुपैयाँ बराबर) र तनहुँको भानु नगरपालिका–१० मा ६ रोपनी (८ लाख ५० हजार रुपैयाँ बराबर) जग्गा रहेको छ । उक्त जग्गा पिताको रोजगारी तथा बचत, पैत्रिक सम्पत्ति, श्रीमतीको आय र अन्तर्राष्ट्रिय रोजगारीबाट प्राप्त भएको उल्लेख गरिएको छ ।

साथै, अर्थमन्त्री डा. वाग्लेसँग ४५ तोला सुन रहेको छ, जुन पारिवारिक तथा रोजगारीबाट प्राप्त भएको जनाइएको छ । बैंक मौज्दाततर्फ, उनको हिमालयन बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गरी कुल १ करोड ९० लाख रुपैयाँ नगद रहेको छ।  यो रकम आफू र श्रीमतीको आय तथा सापटीबाट आर्जन गरिएको उल्लेख छ ।

सेयर लगानीतर्फ, सानिमा मिडल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता सेयर रहेको छ भने साङ्ग्रिला डेभलपमेन्ट बैंकमा २५ हजार कित्ता संस्थापक सेयर रहेको छ । साथै नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख, ठूलो खोलामा ६० लाख र अपर म्यादी खोला हाइड्रोमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको जनाइएको छ ।

मन्त्री वाग्लेको विभिन्न बैंकमा ऋण लिएका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८ लाख रुपैयाँ ऋण लिई २०७० मा तिरेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट २०७३ मा लिएको ७५ लाख रुपैयाँ ऋण २०७९ मा तिरेका छन् । यस्तै, ग्लोबल आइएमई बैंकबाट २०८२ फागुन १२ गते १ करोड ५ लाख रुपैयाँ ऋण लिएको उल्लेख छ । साथै २ करोड ५० लाख रुपैयाँ व्यक्तिगत सापटी लिएको र उक्त सापटी २०८४ सम्म हाइड्रो सेयर तथा अन्य सम्पत्ति बिक्री गरेर तिर्ने योजना रहेको जनाइएको छ ।

वाग्लेसँग ९४ लाख रुपैयाँ मूल्य बराबरको सुवारु एक्सभी कार रहेको छ, जुन वि.सं. २०७९ मा अन्तर्राष्ट्रिय रोजगारी तथा आईआईडीएस संस्थाको सहयोगमा खरिद गरिएको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको सम्पत्ति विवरण अनुसार श्रीमती प्रतिभा शर्माको नाममा ललितपुरमा २ हजार ७९५ वर्गफिट र नवलपरासीको गैँडाकोटमा २ हजार ५ सय वर्गफिट क्षेत्रफलमा बनेका घर रहेका छन् । उक्त घरहरू पैतृक तथा स्वआर्जनबाट निर्माण गरिएको उल्लेख छ । यद्यपि, जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित घर जलेर नष्ट भएको जनाइएको छ ।

यस्तै, शर्माको नाममा ललितपुरको सैँबुमा १ करोड ५५ लाख रुपैयाँ र नवलपरासीको गैँडाकोटमा ६० लाख रुपैयाँ बराबरको जग्गा रहेको छ । गभर्नर पौडेलसँग ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिरा रहेको विवरणमा उल्लेख गरिएको छ ।

बैंक मौज्दाततर्फ, पौडेल दम्पतीको नाममा संयुक्त रूपमा ६ वटा बैंक खाता रहेका छन्, जसमध्ये २ वटा डलर खाता छन् । विवरणअनुसार पौडेलको नाममा सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ लाख ५९ हजार ३४४ रुपैयाँ रहेको छ । साथै सानिमा बैंकको डलर खातामा ६६.७८ अमेरिकी डलर रहेको उल्लेख छ ।

त्यसैगरी, उनकी श्रीमती शर्माको नाममा सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा ४ लाख ७३ हजार ८२२ रुपैयाँ तथा सानिमा बैंककै डलर खातामा ४ हजार ४४६.५८ अमेरिकी डलर रहेको छ ।

सेयर लगानीतर्फ, गभर्नर पौडेल विभिन्न ७ कम्पनीमा प्रवद्र्धक (संस्थापक) लगानीकर्ता रहेका छन् । सानिमा बैंकमा २ करोड ४४ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको २ लाख ४४ हजार १७६ कित्ता, सानिमा हाइड्रोपावरमा ९२ लाख ५७ हजार ९ सय रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता र सानिमा मिडल तमोर हाइड्रोमा १ करोड ८८ लाख रुपैयाँ बराबरको १ लाख ८८ हजार कित्ता सेयर रहेको छ ।

यसैगरी, ग्लोबेको प्रालिमा ९३ लाख ४१ हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ८३४ कित्ता, संयुक्त ऊर्जा हाइड्रोपावरमा ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता, चितवन इनर्जीमा २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता तथा ग्लोबेको प्रालिमै श्रीमती प्रतिभा शर्माको नाममा ३७ लाख ५० हजार रुपैयाँ बराबरको ७५ हजार कित्ता सेयर रहेको छ । उक्त लगानी पैतृक सम्पत्ति र स्वआर्जनबाट गरिएको उल्लेख छ ।

यस्तै, शर्माको नाममा २०७७ मा ४४ लाख रुपैयाँ बराबरको क्गशगपष् अबच खरिद गरिएको उल्लेख छ, जुन पुरानो गाडी बिक्री तथा स्वआर्जनबाट गरिएको जनाइएको छ ।

Share News