मन्त्रीहरू चढ्छन् ईभी, कुन मन्त्रीको रोजाइमा कुन ब्राण्ड ?

गृहमन्त्री सुधन गुरुङले चढ्ने एमजी ईभी । फाइल तस्बिर ।

काठमाडौं । नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (ईभी) प्रतिको आकर्षण ह्वात्तै बढेको छ । सरकारले प्रदान गरेको कर सहुलियत, तुलनात्मक रूपमा सस्तो मूल्य र आधुनिक प्रविधिको उपलब्धताले गर्दा आम सर्वसाधारणदेखि देशको नीति निर्माण गर्ने तहसम्म ईभीको प्रयोग व्यापक बनेको हो ।

वर्तमान मन्त्रीहरूको सम्पत्ति विवरणलाई हेर्दा आधा मन्त्रीहरूले विद्युतीय कार रोजेको पाइएको छ । उनीहरूले एमजी, बीवाइडी, किया, डोङफेङ र स्काइवेल जस्ता ब्रान्डका ईभी चढिरहेका छन् ।

मन्त्रीहरूमध्ये सबैभन्दा धेरैको रोजाइमा एमजी ब्राण्ड परेको छ । सुधन गुरुङ (गृहमन्त्री) र प्रतिभा रावल (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री) सँग एमजी एस ५ मोडलको ईभी रहेको छ, जसको बजार मूल्य ४४ लाखदेखि ५५ लाख रुपैयाँसम्म पर्छ ।

यस्तै, विराजभक्त श्रेष्ठ अर्थात् ऊर्जामन्त्रीले पनि आफूसँग एमजीकै ईभी रहेको उल्लेख गरेका छन् । 

शिक्षामन्त्री सस्मित पोखरेलसँग दुइवटा ईभी छन् । 

यसैगरी,  परराष्ट्रमन्त्री शिशिर खनालले ४० लाख रुपैयाँमा बैंक ऋणमार्फत डोङफेङ भिगो ईभी खरिद गरेका छन् । 

गौरीकुमारी यादव अर्थात् उद्योगमन्त्रीले ५७ लाख रुपैयाँमा हुन्डाई कोना ईभी खरिद गरेकी छिन् । कानुन मन्त्री सोविता गौतमसँग ९५ लाख रुपैयाँ बराबरको स्काइवेल ईटी ५ ईभी रहेको बताइएको छ ।

मन्त्रिपरिषदका सबै सदस्यहरू सवारी धनी भने छैनन् । सरकारका प्रमुख बालेन्द्र शाह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनीहरूको नाममा कुनै पनि निजी सवारीसाधन छैन । 

त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ९४ लाखको जापानिज गाडी सुवारु एक्सभी कार चढ्छन् भने स्वास्थ्यमन्त्री निशा मेहतासँग हुन्डाई ब्राण्ड आई १० रहेको छ । अन्य कतिपय मन्त्रीहरू भने अझै पनि पेट्रोल/डिजेल सवारी वा दुईपांग्रेमा सीमित छन् । 

Share News