कांग्रेसको सदस्यता अभियान : सबैले वडामा पुग्नैपर्ने, डिजिटल कार्ड बनाउनैपर्ने

काठमाडौं । नेपाली कांग्रेसले वैशाख महिनाभर देशभर क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र अभिलेखमा आधारित बनाउने लक्ष्यसहित नयाँ व्यवस्था लागू गर्न लागेको जनाएको छ ।

कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार अब क्रियाशील सदस्यता लिन वा नवीकरण गर्न चाहने व्यक्तिले सम्बन्धित वडा कार्यसमितिमा स्वयं उपस्थित हुनुपर्नेछ । पहिलेजस्तो अरू व्यक्तिबाट फारम भर्ने वा शुल्क तिरेर सदस्यता लिने अभ्यासलाई पूर्ण रूपमा अन्त्य गरिएको छ ।

सहमहामन्त्री स्नेहीका अनुसार नयाँ प्रक्रियावाट सदस्यता प्राप्त गर्न स्वयं वडा कार्यालयमा पुगेर फारम भर्नुपर्ने, फोटो खिचाउनुपर्ने र मोबाइल नम्बर अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । सोही नम्बरमा आउने ओटीपीमार्फत भेरिफिकेसन गरेर मात्र सदस्यता प्रक्रिया अगाडि बढाइने स्नेहीले जानकारी दिए ।

परम्परागत कार्ड प्रणाली हटाएर अब प्रत्येक सदस्यलाईं कांग्रेस आइडी जारी गरिने स्नेहीले जानकारी दिए । सहमहामन्त्री स्नेहीका अनुसार जुन पूर्ण रूपमा डिजिटल हुनेछ । यस प्रणालीमार्फत पार्टीले सदस्यहरूको विवरण व्यवस्थित रूपमा अद्यावधिक राख्न सहज हुने स्नेहीले जानकारी दिए ।

पार्टीले हालसम्म सदस्यता अभिलेखमा रहेका सबै सदस्यलाई एक पटकका लागि पुनः अद्यावधिक गर्न अवसर दिने निर्णय गरेको छ । त्यसअनुसार वैशाखभर ६ हजार ७ सय ४३ वटै वडामा विशेष अभियान सञ्चालन हुने स्नेहीले जानकारी दिए ।

सहमहामन्त्री स्नेहीका अनुसार वैशाखमा विवरण अद्यावधिक गर्ने सदस्यलाई नयाँ नम्बरसहितको कांग्रेस आइडी प्रदान गरिनेछ र त्यसपछि मात्र उनीहरूको नाम क्रियाशील सदस्यमा कायम रहनेछ ।

तर, कांग्रेसको चौधौ महाधिवेशन समुह भने कांग्रेसको महाधिवेशनको मुद्धा अदालतमा विचाराधीन रहेको समयमा सदस्यता नवीकरणको अभियानले अदालतको विषयलाई प्रभाव पार्न सक्ने बताउछ । नेता जीतजंग बस्नेतका अनुसार अदालती विषय किनारा नलागी सुरु गरिएको अभियानले कसैको भलो गर्दैन । 

मध्यमार्गी अभियानमा रहेका केही नेताहरुले भने छिट्टै सहमति गरेर अगाडि बढ्नुपर्ने बताइरहेका छन् । नेता आङगेलु शेर्पा भन्छन्, ‘अहिले दुवै पक्षबीच वृहत्तर वार्ता भइरहेका छन् । पटक-पटक भइरहेका सम्वाद र कुराकानीले सकारात्मक परिणाम दिने शेर्पाको दाबी छ । 
 

Share News