काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकामा रहेको कुमारी आधारभूत विद्यालयमा विभिन्न अक्षय कोषमार्फत जेहेन्दार तथा सिमान्तीकृत विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।
विद्यालयमा स्थापना गरिएका टोमलाल पाण्डे स्मृति अक्षय कोष, शान्ता तथा ओसन पन्थी अक्षय कोष र द्रुपदा पाण्डे अक्षय कोषबाट प्राप्त ब्याज रकममार्फत विद्यार्थीलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरिएको हो ।
विद्यालयकी प्रधानाध्यापक राधिका सापकोटा भण्डारीका अनुसार जनजाति तथा सिमान्तीकृत समुदायका विद्यार्थीको संख्या बढी रहेको विद्यालयमा स्थानीय समाजसेवीहरूले अक्षय कोष स्थापना गरी शिक्षामा प्रेरणा दिने प्रयास गरेका छन् । ती अक्षय कोषबाट प्राप्त ब्याज रकम उत्कृष्ट, अपांग तथा सिमान्तीकृत विद्यार्थीलाई पुरस्कारका रूपमा वितरण गर्ने गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिइन् । उनका अनुसार कक्षा १ देखि ५ सम्मका उत्कृष्ट तथा सिमान्तीकृत विद्यार्थीलाई नगद र जिन्सी सामग्री प्रदान गरिएको हो ।
पुरस्कृत हुने विद्यार्थीहरूमा आकृति कुमाल, बसन्त कुमाल, गीता कुमाल, पूजा मुखिया, मदन कुमाल, अशोक नेपाली र बुद्धिराम कुमाल रहेको प्राधानाध्यापक भण्डारीले जानकारी दिइन् । उनीहरूलाई जनही ५ सय रुपैयाँका साथै कापी, कलम लगायतका स्टेशनरी सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ ।
यसैगरी, सोही अक्षय कोषबाट कक्षा १ का सबै विद्यार्थीलाई समेत स्टेशनरी सामग्री उपलब्ध गराइएको भण्डारीले जानकारी दिइन् । विद्यालयको वार्षिकोत्सव तथा नतिजा प्रकाशन समारोहको अवसरमा उत्कृष्ट शिक्षक र अभिभावकलाई समेत सम्मान गरिएको प्रधानाध्यापक भण्डारीले जानकारी दिइन् ।