काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा ५ औं महाधिवेशन पोखरामा सम्पन्न भएको छ । पोखरा घोषणापत्र २०८२ जारी गर्दै सम्पन्न भएको महाधिवेशनले होटल तथा पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्राथमिक उद्योग घोषणा गर्नुपर्ने लगायतका ११ बुँदे माग र प्रतिबद्धता अघि सारेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले महासंघको आगामी कार्यकालका लागि टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा २४ पदाधिकारीसहित ४७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
के छन् घोषणापत्रमा ?
महाधिवेशनले जारी गरेको घोषणापत्रमा नेपालको होटल र आतिथ्यता क्षेत्रको दिगो विकासका लागि होटल व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधार मान्दै यसलाई ’प्राथमिक उद्योग’ घोषणा गर्न सरकारसँग पहल गर्ने, निजी क्षेत्रको खर्बौंको लगानी सुरक्षाका लागि व्यवसायमैत्री नीति, कर प्रणाली र कानुनी सुधारमा जोड दिने, सहुलियतपूर्ण कर्जा र वित्तीय पहुँचका लागि समन्वय गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा उपयोगमा ल्याउँदै अन्तर्राष्ट्रिय उडान सुचारु गर्न र हवाई कनेक्टिभिटी विस्तार गर्न माग गर्ने, आन्तरिक र बाह्य पर्यटन विकासका लागि नयाँ गन्तव्यहरूको खोजी गर्ने तथा एड्भेन्चर, वेलनेस र स्पिरिचुअल पर्यटनलाई प्राथमिकता दिने, साना तथा मझौला होटलहरूको संरक्षण गर्दै व्यवसायलाई आधुनिक र प्रतिस्पर्धात्मक बनाउन डिजिटल प्रणाली र सीप विकासका कार्यक्रम सञ्चालन गर्ने तथा वातावरण संरक्षण, सरसफाइ र स्थानीय उत्पादनको प्रवद्र्धनलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाउने माग र प्रतिबद्धता समावेश छन् ।
महाधिवेशनमा देशभरबाट करिब एक हजार होटल व्यवसायीहरूको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष टी.आर. भण्डारीले सुरक्षित र मर्यादित व्यवसाय, रोजगारी सिर्जना र राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउन महासंघ प्रतिबद्ध रहेको बताए ।
महासंघले राज्यका तीनै तहका सरकारसँग समन्वय र सहकार्य गर्दै पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजना र सरल नीति कार्यान्वयन गर्न अपिल समेत गरेको छ । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।