सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सम्पत्ति: श्रीमान्‌को आयबाट काठमाडौं र बारामा जग्गा, २५ तोला सुन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् ।

आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार मन्त्री प्रतिभा रावलको काठमाडौं र बारामा गरी १ करोड २० लाख बराबरको जग्गा र विलासी सवारी साधन रहेको देखिएको छ ।

मन्त्री रावलले बुझाएको विवरण अनुसार काठमाडौंको बूढानीलकण्ठमा ७० लाख रुपैयाँ र बारामा ५० लाख रुपैयाँ मूल्य पर्ने जग्गा रहेको छ । यी दुवै जग्गा खरिदको मुख्य स्रोत उनले आफ्नो श्रीमान्‌को आयलाई देखाएकी छिन् । त्यस्तै, उनीसँग २५ तोला सुन रहेको छ । उक्त सुनको प्राप्तिको स्रोत स्वआर्जन र परिवारबाट प्राप्त उपहार भएको विवरणमा उल्लेख छ ।

आर्थिक कारोबारका हकमा विभिन्न बैंकहरूमा उनको नाममा २४ लाख रुपैयाँभन्दा बढी बचत रहेको छ । यो रकम पनि श्रीमान्‌कै आम्दानीबाट जम्मा भएको उनले खुलाएकी छिन् ।

सवारी साधनतर्फ मन्त्रीसँग ४४ लाख रुपैयाँ मूल्यको गाडी रहेको छ । विवरणमा मन्त्रीले बैंक ऋणको दायित्व पनि उल्लेख गरेकी छिन् । उनले एभरेष्ट बैंकबाट २०८२ साल जेठ महिनामा २० लाख रुपैयाँ ऋण लिएको सम्पत्ति विवरणमा खुलाइएको छ ।

सरकारले पारदर्शिताका लागि प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण एकसाथ सार्वजनिक गरेको हो ।

Share News