कृषि र वनमन्त्री गीता चौधरीको सम्पत्ति: माइतीको बाख्रादेखि ऋणको स्कुटरसम्म

काठमाडौंं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको सम्पत्ति विवरणमा केही रोचक तथ्यहरू देखिएका छन् । 

मन्त्री चौधरीले आफ्नो सम्पत्ति विवरणमा घडीदेखि ल्यापटपसम्मको मूल्य स्पष्टसँग उल्लेख गरेकी छिन्। उनले ५० हजारको घडी लाउने गरेको पाइएको छ ।

यस्तै, स्वआर्जनबाट ५० हजार रुपैयाँ पर्ने घडी रहेको छ भने मोबाइल ९० हजार रुपैयाँ र ल्याप्टप ७५ हजार रुपैयाँ रहेको पाइएको छ । 

उनको नाममा ५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ ।

५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।

मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुरट खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ ।

स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको विवरणमा उल्लेख छ ।

Share News