गृहमन्त्री सुधन गुरुङसँग साढे ४ करोडको सेयर, धनकुटामा जग्गा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको ४ करोड ३१ लाख रुपैयाँभन्दा बढी सेयरमा लगानी रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार गुरुङको कुल ४ करोड ३१ लाख रुपैयाँ बराबरको लगानी रहेको देखिएको हो।

विवरणअनुसार, होप होल्डिङ्स प्रालिमा ३० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ३० लाख रुपैयाँ रहेको छ। त्यस्तै, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय कित्ता सेयर रहेको छ, जसको मूल्य ५७ लाख रुपैयाँ बराबर रहेको उल्लेख गरिएको छ।

पुँजी बजारमा कारोबार हुने अन्य सेयरहरूमा उनले २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ लगानी गरेको जनाएका छन्, जसको स्रोत व्यवसायीक तथा पैतृक सम्पत्ति रहेको उल्लेख छ। साथै, एड्भेन्चर भिल्ला प्रालिमा ७० हजार कित्ता सेयर रहेको छ, जसको मूल्य करिब ७० लाख रुपैयाँ रहेको छ।

सवारी साधनतर्फ, लगुम प्रिमियम अपार्टमेन्ट्सको नाममा करिब ४७ लाख ९९ हजार रुपैयाँ मूल्य बराबरको एमजी-एस५ कार रहेको छ।

जग्गातर्फ, गुरुङको नाममा धनकुटाको कार्कीछापमा १९ रोपनी १५ आना जग्गा रहेको छ। साथै उनका बुवा दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर-१८ मा ३० कट्ठा तथा हजुरबुबा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।

Share News