काठमाडौं । औषधी व्यवस्था विभागबाट स्वास्थ्य मन्त्रालयमा तानिएका विभाग महानिर्देशक नारायणप्रसाद ढकालमाथि छानबिन गर्न समिति गठन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।
महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधीको मूल्यवृद्धि गरेको भन्दै स्वास्थ्य मन्त्रालयमा उजुरी प्राप्त भएकाले सो विषयमा छानबिन गर्न समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
यो समितिले महानिर्देशकले ७ दिनभित्र औषधीको मूल्य निर्धारण प्रक्रिया, उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधीको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नता भएको हो भन्ने विषयमा खुलाई छानबिन गरी पेश गरिसक्नुपर्ने छ ।
समिति सदस्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी, विषयविज्ञ कविन मलेकु रहेका छन् ।
समितिले आवश्यकताअनुसार विज्ञ तथा अन्य कर्मचारीहरू आमन्त्रित गर्न सक्ने जनाइएको छ ।