अटो बजारमा नयाँ वर्षलक्षित अफर : चारपांग्रेमा गाडी नै उपहार, दुई पांग्रेमा ५ वर्षसम्म निःशुल्क पेट्रोल

काठमाडौं । नयाँ वर्ष २०८३ सुरु हुन लागेसँगै नेपाली अटो बजारमा ग्राहक आकर्षित गर्ने होडबाजी सुरु भएको छ । बजारको सुस्तता तोड्न र नयाँ वर्षलाई उत्साहजनक बनाउन चारपांग्रे र दुईपांग्रे सवारी विक्रेता कम्पनीहरूले नगद छुट, एक्सचेन्ज बोनस, वैदेशिक भ्रमणदेखि निःशुल्क पेट्रोल र गाडी उपहारसम्मका आकर्षक योजनाहरू सार्वजनिक गरेका हुन् । 

चारपांग्रे सवारीतर्फ सबैभन्दा आक्रामक अफर फोर्डले ल्याएको छ । फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले एभरेष्ट, र्याप्टर वा रेन्जर जस्ता प्रिमियम गाडी खरिद गर्दा केयी ब्राण्डको ई-क्युट ०२ मोडलको विद्युतीय गाडी (ईभी) उपहार दिने घोषणा गरेको छ ।

यस्तै, टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ अफरस्वरुप लक्की ड्रमार्फत टाटा आईपीएल हेर्न भारत जाने अवसर, नगद छुट र लाइफटाइम डीसी फास्ट चार्जिङको सुविधा ल्याएको छ । कम्पनीका अनुसार ग्राहकहरूलाई निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, होम चार्जिङ इन्स्टलेसनजस्ता विशेष सुविधा पनि दिइनेछ ।

हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले  हुण्डाई मोडलका गाडीहरूको खरिदमा १ लाख ७५ हजारसम्म नगद छुट, ९६ हजार बोनस र ३ वर्षको वारेन्टी उपलब्ध छ भने एक वर्षका लागि निःशुल्क बीमा र सवारी कर (रोड ट्याक्स) को सुविधा समेत उपलब्ध गराइएको छ ।

नयाँ वर्षको सुरुवातसँगै नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले आकर्षक नगद छुट र विभिन्न बोनस सुविधाहरू सहितको यो योजना ल्याएको जनाएको छ । ग्राहकको सहजताका लागि कम्पनीले स्पट एक्सचेन्ज र मूल्यांकनको सुविधा पनि प्रदान गर्नेछ, जसले पुरानो गाडी साटेर नयाँ लिन चाहनेहरूलाई थप मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

यस्तै, केयी गाडीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ‘केयी एक्सचेन्ज क्याम्प’ अफरमार्फत होटल दुसित थानीमा एक रातको स्टे प्याकेज र आकर्षक एक्सचेन्ज बोनस दिने भएको छ । कम्पनीले देशभर तीन दिने ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने गर्दै  ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारीसाधन स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ । 

यसमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् । नेपालमा किफायती तथा मूल्यअनुसार लाभदायी (भ्यालु–फर–मनी) सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै आधुनिक आवागमन (मोडर्न मोबिलिटी) मा पहुँच सहज बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको कम्पनीले जनाएको छ । 

ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा (फाइनान्सिङ), सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ ।

यसैगरी निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसान म्याग्नाइट प्रतिदिन मात्र ९९९ रुपैयाँमा चढ्न सकिने योजना ल्याएको छ । यसमा ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन् । 

दुईपांग्रेमा प्रतिस्पर्धाः निःशुल्क पेट्रोलदेखि क्युआर गेमसम्म

दुईपांग्रे सवारी वितरकहरूले बढ्दो इन्धनको मूल्यलाई लक्षित गर्दै राहतमूलक योजना ल्याएका छन् । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लक्की ड्रमार्फत भाग्यशाली विजेतालाई ५ वर्षसम्म निःशुल्क पेट्रोल उपलब्ध गराउने भएको छ ।

यस्तै, होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘२०८३ को सपना मेरो होण्डा’ अफर ल्याउँदै स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म जित्न सकिने र ७ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा ल्याएको छ ।

बजाजको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज न्यू इयरको क्यूआर’ अफर मार्फत क्यूआर स्क्यान गरेर गेम खेल्दा स्मार्ट वाच र १ लाखसम्म नगद जित्ने मौका ल्याएको छ । 

यस्तै, हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले १ लाखसम्म नगद छुट र उत्ति नै बराबरको एक्सचेन्ज बोनसका साथै सजिलो फाइनान्स सुविधा ल्याएको छ । सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ३०० एनके मोडलमा १ लाख ५ हजारको भारी छुटसहित हेल्मेट र हुडी निःशुल्क दिइने कम्पनीले जनाएको छ ।

इटालियन स्कुटर ब्राण्ड भेस्पा/एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ४.९९ प्रतिशतको न्यून ब्याजदर र रूपाकोट रिसोर्टमा बस्ने प्याकेजको अफर ल्याइएको छ । सेगवेको आधिकारिक वितरक आइहब प्रालिले पहिलो २५ ग्राहकका लागि ४१ हजारसम्मको ‘अर्ली बर्ड’ डिस्काउन्ट र डिजिटल ट्याब उपहार राखिएको छ । 

यस्तै, यामाहाको आधिकारिक वितरक एमएडब्लूले ‘यामाहा ब्लु फेस्ट’ अफर ल्याउँदै नयाँ हाइ(टेक मोटरसाइकल तथा स्कुटरहरू अवलोकन गर्न दिने भएको छ । यसमा आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा मूल्यांकन गराउन सक्नेछन् ।

ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ।

ग्राहकहरूले नागरिकतामार्फत फाइनान्स सुविधा लिन सक्नेछन् । साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् । फेस्टमा खरिदकर्ताहरूले ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउने जनाइएको छ ।

अटो व्यवसायीहरूका अनुसार नयाँ वर्षमा सवारी साधन खरिद गर्दा ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् । प्रायः सबै कम्पनीले पुराना सवारी साधनसँग नयाँ साट्न चाहनेका लागि स्पट एक्सचेन्ज र उत्कृष्ट मूल्यांकनको सुविधालाई प्राथमिकता दिएका छन् । 

बैंकिङ तरलता र व्यवसायीहरूको प्रतिस्पर्धाका कारण यो समय गाडी वा मोटरसाइकल जोड्न चाहनेका लागि निकै सस्तो र उपयुक्त देखिएको छ । यी सबै योजनाहरू नेपालभर रहेका सम्बन्धित ब्राण्डका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि लागू हुने कम्पनीहरूले जनाएका छन् । 

Share News