काठमाडौं । काठमाडौं महानगरपालिकाले बढ्दो इन्धन दबाबलाई मध्यनजर गर्दै सवारी प्रयोगमा नयाँ अभ्यास सुरु गरेको छ । महानगरले कार पुलिङ्ग प्रणाली लागू गर्दै पदाधिकारी र कर्मचारीबीच साझा सवारी प्रयोगको संस्कृति विकास गर्न थालेको जनाएको छ ।
यो प्रणालीअन्तर्गत एउटै क्षेत्रबाट कार्यालय आउनेजाने कर्मचारीलाई एउटै समूहमा राखिएको छ । उनीहरूले आफ्नो सवारीसाधन आलोपालो प्रयोग गर्दै सहकर्मीलाई साथमै ल्याउने लैजाने व्यवस्था मिलाइएको महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
यसले व्यक्तिगत सवारी प्रयोग घटाउने मात्र होइन, सहकार्य र सामूहिक जिम्मेवारीको भावना पनि बढाउने अपेक्षा गरिएको डंगोलले बताइन् ।
कार्यवाहक मेयर डंगोलले अहिलेको परिस्थितिमा इन्धन बचत गर्नु अत्यावश्यक भएको बताउँदै यस्तो पहल गरिएको जानकारी दिएकी हुन् । उनका अनुसार विश्वव्यापी इन्धन संकटको प्रभाव स्थानीय तहसम्म देखिन थालेको अवस्थामा समयमै सावधानी अपनाउनु जरुरी छ ।
महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गरिसकेको छ ।
‘कार पुलिङ’ कार्यक्रममा बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ । यस समूहमा हुनेले आफूसँग भएको सवारी साधन आलोपालो सञ्चालन गरेर आफू नजिकका अधिकारीलाई पनि ल्याउने लाने गर्नुपर्छ । यसो गर्दा कार्यालयमा आउने जाने सवारी साधनको संख्या र इन्धनको प्रयोग घट्नेछ ।