कामना सेवा विकास बैंकको स्वास्थ्य शिविरमा ६ सयभन्दा बढीले लिए सेवा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी गाउँपालिका–६, बर्दहवास्थित दुर्गा देवी माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसूति रोग, नाक–कान–घाँटी, आन्तरिक रोग तथा दाँत–मुखसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ६ सयभन्दा बढीले स्वास्थ्य परीक्षण सेवा लिएका थिए ।

समुदायका व्यक्तिहरूमा प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पुर्याउने, स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा रोग रोकथाममा टेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको बैंकले जनाएको छ ।

शिविरमा सहभागीलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टलका चिकित्सकहरूले प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै स्थानीय समुदायसँगको सहकार्य अझ सुदृढ बनाउँदै लैजाने धारणा राखे ।

कार्यक्रमप्रति स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिएका छन् ।   

Share News