काठमाडौं । पोखरा महानगरपालिकामा अहिले ३३ अर्ब रुपैयाँभन्दा बढीका ठूला र गौरवका आयोजनाहरू सञ्चालनमा रहेका छन् । मेयर धनराज आचार्यले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायहरूसँगको समन्वयमा पोखरामा ऐतिहासिक विकासका कामहरू शुरु गरिएको बताए । प्रमुख आयोजनाहरूमध्ये कोरियन सरकारको सवा २ अर्ब सहयोगमा बन्न लागेको अत्याधुनिक प्रदर्शनी केन्द्र एक हो ।
यो भवनको डिजाइन पोखराको पहिचान झल्किने गरी ‘घोप्टिएको डुङ्गा’ आकारको हुने मेयर आचार्यको भनाइ छ । जुन आफैँमा एउटा पर्यटकीय आकर्षण बन्नेछ । यसले झडै ३ हजार मानिसलाई रोजगारी दिने लक्ष्य राखिएको उनले बताए । त्यस्तै, कोइकाको झन्डै २ अर्ब सहयोगमा अत्याधुनिक ‘जलन केन्द्र’ अस्पताल निर्माण हुँदैछ ।
लेखनाथको पुरानो भवन भएको ठाउँमा एशीयाली विकास बैंकको सहयोगमा विपद् व्यवस्थापन केन्द्रको टेण्डर प्रक्रिया शुरु भइसकेको छ । पोखराका सबै तालहरूलाई जोड्ने गरी साइकल लेन निर्माण गर्ने एडीबीकै प्रोजेक्ट अघि बढेको छ भने शान्ति वाटिकामा बोटानिकल गार्डेन बनिरहेको मेयर आचार्यले बताए ।
उनले भने, ‘अहिले ३३ अर्ब भन्दा बढिका विभिन्न ठूला परियोजनाहरु पोखरामा शुरु भएका छन् । केही त मेरै कार्यकालमा सकिन्छ भने केही चाँही आधाआधी भएका हुन्छन् । त्यो पनि सबैले खुला रुपमा नै देखिने खालका हुन्छन् । उदाहरणका लागि झन्डै ३ हजार मान्छेलाई रोजगारीमा जोडने खालको हाम्रो प्रदर्शनी केन्द्र बन्दैछ ।’
पोखराको पुरानो बजारलाई हनुमानढोका वा बन्दीपुर जस्तै ‘हेरिटेज साइट’ को रूपमा विकास गर्ने गुरुयोजना तयार भएको छ । पञ्चासे क्षेत्रमा सवा अर्बको रिसर्च सेन्टर र टु–लेन स्टान्डर्डको बाटो बन्दैछ ।
उज्यालो पोखरा’ कार्यक्रम अन्तर्गत शहरका मुख्य चोकहरूमा हाईमास्ट बत्तीहरू जडान गरिएका छन् भने मुख्य बजारको बिजुलीको तारलाई ‘अण्डरग्राउण्ड’ गर्ने काम तिब्र गतिमा अघि बढेको छ । विश्व बैंकको सहयोगमा तालचोक–बेगनास, सिसाघाट र कोत्रे–विरौटा सडकहरूको स्तरोन्नति भइरहेको छ, जसले पोखरालाई एउटा आधुनिक र सुरक्षित शहरको रूपमा स्थापित गर्नेछ ।