काठमाडौं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको महाधिवेशनले टी.आर. भण्डारी (शंकर) को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनबाट सिंगो कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले सम्पूर्ण प्रतिनिधि, अग्रज व्यवसायी तथा सहयोगीप्रति आभार व्यक्त गर्दै महासंघलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन तथा होटल क्षेत्रलाई अझ प्रतिष्पर्धी र व्यवस्थित बनाउन नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा व्यवसायीहरूको हकहित संरक्षणलाई प्राथमिकता दिने बताए ।
महासंघले देशभरका होटल व्यवसायीलाई एकीकृत गर्दै नीति पैरवी, क्षमता विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नयाँ नेतृत्वसँगै डिजिटल रूपान्तरण, पूर्वाधार विकासमा सहकार्य र दक्ष जनशक्ति उत्पादनमा थप गति आउने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्रका सरोकारवालाहरूले नयाँ कार्यसमितिले निजी क्षेत्र र सरकारबीच समन्वय सुदृढ गर्दै क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।